एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका दिवंगत पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा केही इरानीहरू रोइरहेको देखेर आफू अचम्ममा परेको बताएका छन्।
अमेरिकी समाचार वेबसाइट एक्सियोससँगको अन्तर्वार्तामा ट्रम्पले आफूले खामेनीको अन्त्येष्टि समारोह हेरिरहेको बताउँदै, समारोहमा सहभागी केही इरानीहरू रोइरहेको देख्दा आश्चर्य लागेको प्रतिक्रिया दिएका हुन्।
उनले आफूलाई इरानका धेरै मानिसले अली खामेनीलाई घृणा गर्छन् भन्ने लागेको उल्लेख गर्दै त्यसैले उनीहरूको रुवाइ अप्रत्याशित लागेको बताए। एक्सियोसका अनुसार केहीबेर सोचेर ट्रम्पले ‘सायद ती आँसु वास्तविक नहुन पनि सक्छन्’ भन्ने टिप्पणी गरेका थिए।
सोही अन्तर्वार्तामा ट्रम्पले फेरि एकपटक इरान ‘सम्झौताका लागि हारगुहार गरिरहेको थियो’ भन्ने आफ्नो दाबी दोहोर्याएका छन्।
तेहरानमा अन्तिम श्रद्धाञ्जली जारी
दिवंगत नेता अली खामेनीको पार्थिव शरीर हाल तेहरानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। उनलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो संख्यामा सर्वसाधारण तथा विभिन्न देशका प्रतिनिधिहरू पुगेका छन्।
समारोहमा हजारौँ मानिस सहभागी भएका छन्। धेरैलाई रोइरहेको, नाराबाजी गरिरहेको तथा शिया परम्पराअनुसार शोक मनाइरहेको देखिएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणमा सर्वोच्च नेताको निवासमा भएको हमलामा अली खामेनीसहित उनका परिवारका चार सदस्यको मृत्यु भएको थियो।
यसअघि तेहरान, कुम, नजफ र करबलामा एक सातासम्म अन्तिम यात्रा तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने जनाइएको छ। क्षेत्रीय तनावका बीच राष्ट्रिय एकता प्रदर्शन गर्ने उद्देश्यले इरानी प्रशासनले भव्य अन्त्येष्टि कार्यक्रम आयोजना गरेको बताइएको छ।
आइतबार तेहरानस्थित मोसल्ला मस्जिदमा अली खामेनी तथा उनका परिवारका सदस्यहरूको जनाजाको नमाज सम्पन्न भएको थियो। जनाजाको नमाजमा खामेनीका तीन छोरा मिथम, मसूद र मुस्तफा पहिलो पंक्तिमा उपस्थित थिए।
तर, उनका छोरा तथा वर्तमान इरानी सर्वोच्च नेता मोजतबा खामेनी भने जनाजाको नमाजमा सहभागी भएनन्।
अली खामेनीलाई जुलाई ९ मा मशहदमा दफन गरिने जनाइएको छ।
‘एक सातासम्म वार्ता स्थगित’
ट्रम्पले दुवै पक्षले अन्त्येष्टि सम्पन्न नभएसम्म वार्तामा एक साताको विराम दिने निर्णय गरेको दाबी पनि गरेका छन्।
उनले यस अवधिमा कुनै पनि पक्षले एकअर्कामाथि गोली नचलाउने दाबी गर्दै भने, ‘उनीहरू सबै एउटै स्थानमा छन्। एउटा आक्रमणले सबैलाई समाप्त गर्न पर्याप्त हुन सक्छ, तर हामी त्यसो गर्ने छैनौँ, किनभने त्यसपछि वार्ता गर्ने कोही बाँकी रहने छैन।’
इरानी दूतावासको कडा प्रतिक्रिया
ट्रम्पको अभिव्यक्तिपछि आर्मेनियास्थित इरानी दूतावासले एक्समार्फत प्रतिक्रिया दिँदै लेखेको छ, ‘मानिसहरूलाई मार्न सकिन्छ, विचारलाई होइन। तपाईंले आयतोल्लाह खामेनीलाई मार्नुभयो, तर वास्तवमा सुगन्धित इत्रको सिसी फुटाउनुभयो, जसको सुगन्ध चारैतिर फैलिएको छ। तपाईं यी कुरा बुझ्न सक्नुहुन्न, किनभने तपाईंसँग न सभ्यता छ, न इतिहास र न सम्मान।’
अमेरिकी स्वतन्त्रताको २५०औँ वर्षगाँठमा इरानबारे पनि टिप्पणी
अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा दिएको सम्बोधनमा ट्रम्पले इरानबारे पनि टिप्पणी गरेका छन्।
मौसम प्रतिकूलताका कारण केही घण्टा ढिलो भएको भाषणमा उनले अमेरिका मानव सभ्यताको ‘सबैभन्दा ठूलो उपलब्धि’ भएको र आफ्नो नेतृत्वमा देश गौरवको उच्चतम चरणमा पुगेको दाबी गरे।
उनले अमेरिकी सेना इतिहासकै सबैभन्दा शक्तिशाली अवस्थामा रहेको दाबी गर्दै भने, ‘हामीले इरानको सैन्य शक्ति समाप्त गरिदिएका छौँ।’
ट्रम्पले आफ्नो नीतिबारे बोल्दै निर्वाचन सुधार गर्न चाहेको र जन्मका आधारमा नागरिकता दिने व्यवस्थालाई अन्त्य गर्न कार्यकारी आदेश जारी गर्ने योजना रहेको पनि बताए।
झण्डै ४० मिनेट लामो सम्बोधनको अन्त्यमा उनले ‘यो अमेरिकाका लागि स्वर्णिम युगको सुरुवात हो’ भने।
नेतन्याहुसँग भेट्ने तयारी
ट्रम्पले एक्सियोससँगको अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफूलाई ह्वाइट हाउसमा भेट्न अनुरोध गरेको र नेटो शिखर सम्मेलनबाट फर्किएपछि अर्को साता भेट हुन सक्ने जानकारी पनि दिएका छन्।
इरानसँग युद्ध सुरु भएपछि दुवै नेताबीच हुन लागेको यो पहिलो सम्भावित भेट हुनेछ।
नेतन्याहूसँगको सम्बन्धबारे ट्रम्पले ‘उहाँलाई थाहा छ, मालिक को हो’ भन्ने अभिव्यक्ति दिएका छन्।
यद्यपि इरानसँगको युद्ध र लेबनानमा इजरायलका सैन्य कारबाहीका विषयमा दुवै नेताबीच मतभेद रहेको चर्चा भइरहेका बेला पनि उनीहरूको भेट हुने अपेक्षा गरिएको छ।
एक इजरायली अधिकारीका अनुसार ट्रम्प केही दिनमै नेटो शिखर सम्मेलनमा सहभागी हुन टर्की जाने भएकाले भेट अर्को साता हुने सम्भावना बढी रहेको छ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले पनि ट्रम्प र नेतन्याहूबीच शुक्रबार टेलिफोन वार्ता भएको र ‘छिट्टै’ अमेरिकामा भेट्ने सहमति भएको जनाएको छ।

प्रतिक्रिया