यूएईद्वारा १११ नेपाली कैदीलाई आममाफी

यूएईद्वारा १११ नेपाली कैदीलाई आममाफी


काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्नो देशका विभिन्न जेलमा रहेका १११ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। ईद अल-अधा २०२६ को अवसरमा नेपालीलाई माफी दिइएको हो ।

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यूएई सरकारले प्रदान गरेको उक्त आममाफीप्रति नेपाल सरकारको तर्फबाट हार्दिक आभार तथा प्रशंसा गरेको छ। मन्त्रालयले यसलाई नेपाल–यूएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मित्रता र सौहार्द अझ प्रगाढ हुँदै गएको संकेतका रूपमा व्याख्या गरेको छ।

मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार गरेको अनुरोधका आधारमा यूएई सरकारले उक्त निर्णय गरेको हो।

आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरू नेपाल फर्कन सक्नेछन्।

परराष्ट्र मन्त्रालयले यूएई सरकारको यस मानवीय निर्णयले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।