काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आगामी साउनदेखि निर्धारित पोशाकको पालना नगर्ने सांसदलाई प्रतिनिधिसभाको रोष्ट्रम प्रयोग गर्न नदिने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले सांसदहरूको पोशाक र संसदीय आचरणप्रति असन्तुष्टि जनाउँदै दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई यस विषयमा कडाइ गर्न निर्देशन दिएका हुन् ।
बैठकमा उनले केही सांसदले कोट फुकालेर कुर्सीमा झुन्ड्याउने तथा केहीले कोट र संसद्को लोगो नै नलगाई बैठकमा सहभागी हुने गरेको उल्लेख गर्दै यस्तो अभ्यास अब स्वीकार्य नहुने स्पष्ट पारे ।
उनले साउन महिनादेखि सांस्कृतिक पोशाक वा निर्धारित कोट नलगाई आउने सांसदलाई रोष्ट्रममा गएर बोल्न अनुमति नदिइने जानकारी गराएका छन् ।
प्रतिनिधिसभा नियमावलीमा सांसदले मर्यादित पोशाक लगाउनुपर्ने व्यवस्था छ । साथै, कार्यव्यवस्था परामर्श समितिको सुझावका आधारमा पोशाकसम्बन्धी मापदण्ड सभामुखले निर्धारण गर्न सक्ने प्रावधान रहेको छ । सांस्कृतिक पोशाक लगाएर पनि सांसदहरूले बैठकमा सहभागी हुन सक्ने व्यवस्था यथावत् छ ।
सभामुख अर्यालले बैठक सञ्चालन भइरहेका बेला अनावश्यक रूपमा बाहिरिने–भित्रिने प्रवृत्ति रोक्न पनि प्रमुख सचेतक र सचेतकहरूलाई सांसदहरूलाई सचेत गराउन आग्रह गरेका छन् ।
त्यस्तै, उनले सांसदहरूलाई सरकारी कामकाजमा व्यक्तिगत इमेलको सट्टा सरकारी इमेल प्रणालीको प्रयोग गर्न पनि सुझाव दिएका छन् ।

प्रतिक्रिया