कैलाली । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमा योजना बन्द भएपछि सेवाग्राहीलाई उपचारमा समस्या परेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रले बीमा गरेबापत पाउनुपर्ने रकम नपाएपछि उपचारमा समस्या भएको हो । जेठ २९ गतेदेखि केन्द्रले फार्मेसी र प्रयोगशाला सेवामा बीमा कटौती गरेको केन्द्रका अधिकारी अमरसिंह चौधरीले जानकारी दिए ।
चौधरीले भने, “सरकारबाट बीमावापत प्राप्त हुने रकम कटौती गरेपछि अस्पतालको स्रोतले व्ययभार थेग्न नसक्ने हुँदा सेवाग्राहीले पाउँदै आएको फार्मेसी र प्रयोगशाला सेवाको बीमा कार्यक्रम रोकेका छौँ ।”
चालु आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्रमा चार हजार ३७६ जनाले स्वास्थ्य बीमामार्फत सेवा लिएका छन् । बीमा सेवा कटौती हुँदा ६५ जना मात्रै स्वास्थ्य केन्द्रमा सेवा लिन आएका छन् । “स्थानीय सरकारसँग पटकपटक स्वास्थ्य केन्द्रलाई बजेटका लागि आग्रह गर्दा सुनुवाइ हुँदैन”, केन्द्रका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले भने ।

प्रतिक्रिया