विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले रोके आन्दोलन

विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले रोके आन्दोलन


काठमाडौं ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन रोकेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएसँगै कर्मचारीहरु आन्दोलन रोकेर नियमित काममा फर्किएका हुन् ।

नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले आइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका थिए भने २५ भदौमा कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गरेका थिए ।

भन्सार विभागसहित अर्थ मन्त्रालयले अनावश्यक रुपमा दुःख दिने अवस्था आउन नदिने प्रतिबद्धता समेत जनाएको भन्दै कर्मचारीहरु आन्दोलन रोकेर काममा फर्किएका छन् ।

विनाप्रमाण केही कर्मचारीहरु पक्राउ गरेको भन्दै उनीहरुले २७ भदौभित्र मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका थिए ।