काठमाडौं । कांग्रेस सांंसद सीता थपलिया (उर्मिला) ले बालेन सरकारले १०० दिन सुकुम्वासीको आँखामा आँसु उपहार दिएर मनाएको टिप्पणी गरेकी छिन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले डोजर लगाएर सुकुम्वासीलाई बिचल्लीमा पारेको विषय उठाएकी हुन् ।
सरकारले गत वैशाख देस्रो साता काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्वासी बस्तीमा डोजर चलाएर उनीहरूलाई विस्थापित बनाएको थियो । र केहीलाई विभिन्न होल्डिङ सेन्टरमा कोचेर राखेको थियो । अहिले ती सुकुम्वासीहरूलाई होल्डिङ सेन्टरबाट पनि निकालिएको छ । र खाना दिन पनि बन्द गरिएको छ ।
यही विषय सांसद थपलियाले संसद्मा उठाएकी हुन् । उनले भनिन्, ‘सरकारले एक सय दिनमा केही गर्छ भन्ने लागेको थियो । किसानले मल पाउँछन् भन्ने लागेको थियो, तर सुकुम्वासीलाई आँसु उपहार दियो ।’
सांसद थपलियाले ३५ वर्षको नाममा पुराना दल तथा नेताहरूलाई गाली गर्न बन्द गर्नसमेत सत्तारुढ दलका सांसहरूलाई आग्रह गरेकी छिन्। उनले भनिन्, ‘३५ वर्षका नाममा अब गाली नगर्नुहोस् । औँला तपाईँहरूतिर पनि उठ्न थालिसकेको छ । आफू ऐना अगाडि उभिनुहोस् हिलो तपाईँको अनुहारमा पनि लाग्दै छ ।’
उनले अहिले पात्र मात्र बदलिएको उल्लेख गर्दै अहिले पनि नियुक्तिहरूमा नातावाद, कृपावाद र पुरुषवाद भइरहेको टिप्पणी गरिन् । उनले भनिन्, ‘३५ वर्षका नाममा पुराना दलका नेतालाई गाली गर्न बन्द गर्नुहोस् अब औँला तपाइँतरि उठ्दै छ । पात्र मात्र फेरिएको हो प्रवृत्ति उही छ, गतिविधि पनि उही छ । नातावाद कृपावाद भइरहेकै छ । गतिविधि उस्तै छन् ।’

प्रतिक्रिया