फ्रान्सविरुद्ध बदला लिने दाउमा मोरक्को

फ्रान्सविरुद्ध बदला लिने दाउमा मोरक्को


काठमाडौं । फिफा विश्वकप २०२६ को सबैभन्दा रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमध्ये एक मानिएको क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को आमनेसामने हुँदैछन् ।

बोस्टनमा हुने यो खेल केवल सेमिफाइनल प्रवेशको लडाइँ मात्र नभई इतिहास, भावनात्मक सम्बन्ध र राजनीतिक पृष्ठभूमिसँग पनि जोडिएको भिडन्तका रूपमा हेरिएको छ ।

सन् २०१८ को विश्व च्याम्पियन तथा २०२२ को उपविजेता फ्रान्सले चार वर्षअघि कतार विश्वकपको सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराएर फाइनल यात्रा तय गरेको थियो । त्यतिबेला मोरक्कोले स्पेन र पोर्चुगललाई हराउँदै पहिलो अफ्रिकी राष्ट्रका रूपमा विश्वकपको सेमिफाइनल पुगेको इतिहास बनाएको थियो ।

यसपटक मोरक्को त्यही हारको बदला लिने लक्ष्यसहित मैदान उत्रिँदै छ ।

यो खेलको महत्त्व केवल फुटबलमा सीमित छैन । मोरक्को फ्रान्सको पूर्व उपनिवेश हो भने फ्रान्समा ठूलो संख्यामा मोरक्केली मूलका नागरिक बसोबास गर्छन् । त्यसैले दुवै देशका समर्थकका लागि यो खेल भावनात्मक रूपमा पनि अत्यन्त संवेदनशील मानिएको छ ।

मोरक्कोले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणमा ब्राजिलसँग बराबरी खेलेको थियो । त्यसपछि स्कटल्यान्डलाई १–० र हैटीलाई ४–२ ले हराएको टोलीले नकआउट चरणमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा आयोजकमध्ये एक क्यानडालाई ३–० ले हराएर क्वार्टरफाइनल यात्रा तय गरेको हो ।

क्यानडामाथिको जितसँगै मोरक्कोले सन् २०२२ विश्वकपपछि लगातार ३४ खेल अपराजित रहने कीर्तिमानी लयलाई कायम राखेको छ ।

अर्कोतर्फ फ्रान्स प्रतियोगिताको सबैभन्दा बलियो उपाधि दाबेदारका रूपमा उभिएको छ । टोलीले हालसम्म खेलेका पाँचै खेल जित्दै १४ गोल गरेको छ भने केवल दुई गोल मात्रै बेहोरेको छ ।

फ्रान्सका कप्तान किलियन एम्बाप्पे सात गोलसहित प्रतियोगिताका संयुक्त सर्वाधिक गोलकर्तामध्ये एक छन् । उनी अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको आठ गोलको कीर्तिमान पछ्याइरहेका छन् ।

एम्बाप्पेसँगै उस्मान डेम्बेले, माइकल ओलिसे, डेजिरे डुए र ब्राड्ली बार्कोलाले पनि उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सको आक्रमणलाई विश्वकै सबैभन्दा खतरनाक बनाएका छन् ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सले मोरक्कोलाई निकै बलियो टोलीको संज्ञा दिएका छन् ।

उनले भने, “हामीले उनीहरूसँग चार वर्षअघि सेमिफाइनल खेलेका थियौं । उनीहरू उत्कृष्ट टोली हुन् । उनीहरू यहाँ केवल खेल्न आएका होइनन्, जित्न आएका हुन् । गोल गर्न आक्रमण गर्न रुचाउने टोली भएकाले हामी पूर्ण रूपमा तयार हुनुपर्छ ।”

मोरक्कोका मुख्य प्रशिक्षक मोहम्मद उहाबीले टोलीको लक्ष्य केवल राम्रो प्रदर्शन गर्नु नभई विश्वकप जित्नु रहेको बताएका छन् ।

उनले भने, “अहिलेसम्म जे गर्‍यौं, त्यसैमा सन्तुष्ट हुने मानसिकता हाम्रो छैन । हाम्रो लागि वास्तविक बोनस भनेको विश्वकप जित्नु हो ।” रियल म्याड्रिडका स्टार फरवार्ड ब्राहिम डियाजले पनि फ्रान्सविरुद्ध खेल्न टोली पूर्ण रूपमा तयार रहेको बताए ।

उनले भने, “यस्ता खेल खेल्न सबै खेलाडी उत्साहित हुन्छन् । हामी अझै अगाडि बढ्न चाहन्छौं ।”

यद्यपि फ्रान्सलाई हल्का रूपमा फेभरेट मानिएको छ, धेरै फुटबल विश्लेषकहरूले यो क्वार्टरफाइनल चरणकै सबैभन्दा कठिन र बराबरीको प्रतिस्पर्धा हुने अनुमान गरेका छन् ।