काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीका दाइ मदन नेपालीले भाइसँग भएको अन्तिम संवाद सम्झिँदै भक्कानिएका छन् । आज गणेशको निधन हुनुअघि वीर अस्पतालले गरेको पत्रकार सम्मेलनमा मदनले पनि बोलेका थिए ।
गणेशलाई अस्पताल पुर्याइएको केहीबेरमै पुगेका थिए मदन । त्यसबेला गणेशको अवस्था देखेर उनको होसहवास उडेको थियो । गणेशले मदनसँग सकिनसकी बोल्दै आफू निर्दोष रहेको बताएका थिए ।
मदन नेपालीका अनुसार गणेश काठमाडौंमा ‘पठाओ’ चलाउँथे । मुगुको सोरु गाउँपालिकाका स्थायी बासिन्दा गणेश पछिल्लो समय भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए ।
‘पर्सि-निकपर्सि बाइकको किस्ता तिर्ने दिन थियो, त्यही भएर मैले नै बिहान उज्यालो हुनेबित्तिकै उठाएर पठाओ गर्न जाऊ भनेर पठाएको थिएँ,’ मदनले भावविव्हल हुँदै भने, ‘अरूलाई डिस्टर्ब नहोस् भनेर उसले बाइक स्टार्ट नगरी रोडमा डोर्याएर लगेको थियो । बिहान म आफैँले बनाएको सिमी र खुट्टाको मासु खान पनि नपर्खिई ऊ काममा निस्किएको थियो ।’
भावविव्हल हुँदै मदनले सुनाएका कुरा उनकै शब्दमा-
अस्ति दिउँसो गणेशका दुवै बुढाबुढी मेरो रुममा आएका थिए । बेलुका ९ बजेतिर हो ऊ बाहिर निस्कियो । हामी धेरै दुर्गमको मान्छे भएर पनि होला यहाँ खसीको मासु खान अलि गाह्रो हुन्छ । उता सस्तो हुन्थ्यो, यहाँ १४००-१५०० पर्ने हुँदा मासु किनेर खान सकिँदैन । भाइतले खसीको खुट्टा लगेको रहेछ । म खाना खाएर सुतिसकेको थिएँ ।
‘दाइ उठ्नुस् न बनाउनू’ भन्यो । ऊ आफ्नो भाउजूसँग त्यति बोल्दैन । दुवैजना आपसमा खासै बोल्दैनन् । मलाई पकाउन भनेको थियो । मैले ‘भयो छोड’ भनेँ अनि उसले त्यही भात खाएर सुत्यो ।
बिहानै मैले भनेँ, ‘गणेश उज्यालो भयो । पर्सि-निकर्सि त बाइकको किस्ता बुझाउने दिन आइसक्यो । पठाओ गर्न जाऊ तिमी ।’
जुरुक्क उठेर उसले बाइक निकाल्यो । अरू छिमेकीलाई डिस्टर्ब हुन्छ भनेर स्टार्ट नगरिकन बाहिरपट्टी रोडमा लगेर स्टार्ट गरेको थियो । बिहानपल्ट मैले खुट्टा बनाएको थिएँ । १० बज्यो आउँदैन, ११ बज्यो आउँदैन । पठाओ गर्ने मान्छे एक्ज्याक्ट टाइम त हुँदैन, आउला भन्ने भयो । ११ बजिसकेको थियो, म सुतेँ ।
दिउसो साढे दुई बजे पुलिसको नम्बरबाट मलाई फोन भयो । ‘तपाईंको मान्छे पेट्रोल छर्केर यहाँ उ हुनुभएको रहेछ, वीरमा आउनुस् न’ भन्नुभयो। म तीन बजे करेक्ट यहाँ अस्पतालमा आइपुगेको थिएँ । उसको बोली अलि-अलि फुटिरहेको थियो म आउँदा । दुई-चार वटा शब्द उसले बोल्यो । ‘दाई बाबा-मम्मीलाई राम्रो गर्नुस्’ भनेको भन्यै… (रुँदै)…।
त्यो भनिसकेपछि उसले ‘दाई मेरो गल्ती थिएन है, दाई मेरो गल्ती थिएन है’ भनेर दुईचोटि भन्यो । मैले ‘कसको के भएको हो ?’ भनेँ । ‘मेरो गल्ती थिएन, त्यो ह्वील लक लायो, ह्वील लक लाउँदा-लाउँदै अनि ट्राफिक आएर ऊ गर्यो’ भन्यो । त्यत्तिकैमा उसको बोली बन्द भइसकेको थियो । ट्राफिक भन्यो अब अनि ह्वील लक लायो भन्यो, त्यतिमै उसको बोली बन्द भइहाल्यो ।

प्रतिक्रिया