काठमाडौं । विश्वकप २०२६ को रोमाञ्चक प्रतिस्पर्धाबीच इङ्ल्यान्डका जुड बेलिङ्घम र नर्वेका एर्लिङ हालान्डको मित्रता पनि उत्तिकै चर्चामा छ ।
शनिबार क्वार्टरफाइनलमा इङ्ल्यान्ड र नर्वे आमनेसामने हुँदा समर्थकहरूको ध्यान केवल गोलमा मात्र होइन, यी दुई स्टार खेलाडीको सम्बन्धमा पनि केन्द्रित हुनेछ ।
बोरुसिया डर्टमन्डमा सँगै बिताएका दिनदेखि सुरु भएको उनीहरूको मित्रता अहिले सामाजिक सञ्जालमा सबैभन्दा चर्चित ‘फुटबल ब्रोमान्स’ बनेको छ । विश्वकप सुरु भएयता उनीहरूबीचका पुराना भिडियोहरू फेरि भाइरल भइरहेका छन् ।
इन्स्टाग्राम, टिकटक र एक्स (ट्विटर) मा बेलिङ्घम र हालान्डका एकअर्कालाई अँगालो हालेका, गोलपछि खुसी साटेका वा रमाइला क्षणका भिडियोहरू लाखौँ पटक हेरिएका छन् ।
सन् २०२१ मा बेसिक्टासविरुद्धको जितपछि हालान्डले टेलिभिजन अन्तर्वार्तामा बेलिङ्घमको खुलेर प्रशंसा गरेका थिए । उनले उनलाई “अविश्वसनीय खेलाडी” भनेका थिए ।
त्यसैबेला बेलिङ्घम अचानक क्यामेरामा देखिएपछि हालान्डले मजाकमै उनको गालामा चुम्बन गरेका थिए । यो भिडियो अहिले पनि सबैभन्दा धेरै हेरिने फुटबल क्लिपमध्ये एक बनेको छ । अर्को चर्चित दृश्यमा विपक्षी खेलाडीले बेलिङ्घमलाई धक्का दिएपछि हालान्ड दौडिएर उनलाई जोगाउन पुगेका थिए ।
जनसम्पर्क विज्ञ मार्क बोर्कोव्स्कीका अनुसार नयाँ पुस्ताका फुटबलरहरू अघिल्लो पुस्ताभन्दा धेरै परिपक्व र जिम्मेवार छन् ।
उनले बीबीसीसँग भने, “९० र २००० को दशकमा धेरै ब्रान्डहरूले फुटबलरहरूसँग दूरी बनाए, किनभने उनीहरूको व्यवहार राम्रो मानिँदैनथ्यो । अहिलेको पुस्ता भने फरक छ ।” उनका अनुसार सामाजिक सञ्जालले पनि खेलाडीहरूलाई फरक संस्कृतिसँग जोडेको छ ।
“जुड बेलिङ्घम आफ्नो उमेरभन्दा निकै परिपक्व देखिन्छन् । हालान्ड पनि राम्रो पारिवारिक संस्कारबाट आएका खेलाडी हुन् । युरोपमा खेलेर उनीहरूले विभिन्न संस्कृतिबाट धेरै कुरा सिकेका छन्,” उनले भने ।
बेलिङ्घम र हालान्डको मित्रता बोरुसिया डर्टमन्डमा खेल्दादेखि नै चर्चामा थियो । भ्यालेन्टाइन डेका अवसरमा क्लबले दुवैलाई एकअर्काका लागि रमाइला ‘पिकअप लाइन’ पढ्न लगाएर युट्युब भिडियो नै सार्वजनिक गरेको थियो ।
हालान्डले मजाक गर्दै भनेका थिए, “म तिमीलाई सिनेमा लैजान चाहन्थेँ, तर आफ्नै खाजा लैजान पाइँदैन रे ।”
जवाफमा बेलिङ्घमले भनेका थिए, “के तिम्रो नाम गुगल हो? किनकि म जे खोजिरहेको थिएँ, त्यो सबै तिमीसँग छ ।” यी दृश्यहरूले समर्थकहरूलाई निकै मनोरञ्जन दिएका थिए ।
दुवै खेलाडी महिलासँग सम्बन्धमा रहेको चर्चा भए पनि सामाजिक सञ्जालमा केही समर्थकहरूले उनीहरूको मित्रतालाई लोकप्रिय समलिङ्गी आइस हक्की कथामा आधारित “हीटेड राइभलरी” सँग तुलना गरेका छन् ।
फुटबल संस्करणलाई रमाइलो शैलीमा “क्लिटेड राइभलरी” नामसमेत दिइएको छ ।
सामाजिक सञ्जाल विश्लेषक मार्क नाभाराका अनुसार बेलिङ्घम र हालान्डको सम्बन्धले फुटबलरहरूको अर्को मानवीय पक्ष देखाएको छ ।
उनले भने, “फुटबलको सामाजिक सञ्जाल प्रायः विवाद, घृणा र विभाजनले भरिएको हुन्छ । यस्तो अवस्थामा यी दुईको मित्रताले सकारात्मक सन्देश दिएको छ ।”
उनका अनुसार समर्थकहरूले उनीहरूलाई करोडौँ डलरका स्टार खेलाडीका रूपमा मात्र होइन, सामान्य साथीका रूपमा पनि हेर्न थालेका छन् ।
“मैदानमा उनीहरू निकै प्रतिस्पर्धी छन् । तर मैदानबाहिर उनीहरू रमाइला, मायालु र एकअर्काप्रति सम्मान गर्ने साथी हुन्,” उनले भने ।
नाभाराका अनुसार यी दुईको व्यक्तित्व एकअर्काको विपरीत भएकाले पनि उनीहरूको मित्रता झन् रोचक बनेको छ ।
“बेलिङ्घम शालीन, स्पष्ट वक्ता र भावनात्मक रूपमा अभिव्यक्त हुने खेलाडी हुन् । हालान्ड भने अलि फरक स्वभावका, शान्त र हास्यास्पद शैलीका छन् । यही कारण उनीहरूको सम्बन्ध स्वाभाविक देखिन्छ, बनावटी होइन,” उनले बताए ।
हालान्ड आफ्नी बाल्यकालकी प्रेमिका इसाबेल हाउगसेङ जोहान्सेनसँग सम्बन्धमा छन् । उनले नर्वेको एनआरकेसँगको अन्तर्वार्तामा घरको सामान्य दिनचर्याबारे खुलासा गरेका थिए ।
“म खाना पकाउँछु । उनी भिडियो गेम खेल्न निकै मन पराउँछिन् । हामी दुवै मिलेर माइनक्राफ्ट खेल्छौँ, घर बनाउँछौँ वा आफ्नो गाउँ ब्रिन फर्केर कबाब खान्छौँ,” उनले भनेका थिए ।
यता बेलिङ्घम अमेरिकी मोडल एश्लिन क्यास्ट्रोसँग सम्बन्धमा रहेको चर्चा छ । उनले सम्बन्धबारे सार्वजनिक रूपमा बोलेका छैनन् । तर उनले आफ्ना आमाबुबाबाट पाएको संस्कारबारे भने खुलेर बोल्ने गरेका छन् ।
इङ्ल्यान्ड फुटबलसँगको अन्तर्वार्तामा उनले भनेका थिए, “यदि मेरा बुबा फुटबल खेलाडी नभएको भए म पनि सायद फुटबलमा आउने थिइनँ । आमाले भने मलाई फुटबलबाहिरको जीवन सिकाउनुभयो । शान्त रहनु, नेतृत्व गर्नु र राम्रो उदाहरण बन्नु उहाँबाटै सिकेको हुँ ।”
विश्लेषक नाभाराका अनुसार बेलिङ्घम र हालान्डको मित्रताले फुटबल समर्थकलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ । “एउटा मित्रताले सामाजिक सञ्जालको सबै विषाक्तता अन्त्य गर्दैन । तर यसले घृणाबिनाको प्रतिस्पर्धा पनि सम्भव हुन्छ भन्ने देखाएको छ । अहिलेको अनलाइन संसारमा यो निकै दुर्लभ कुरा हो,” उनले भने ।
शनिबार विश्वकपको क्वार्टरफाइनलमा इङ्ल्यान्ड र नर्वेबीच कसले जित्छ भन्ने मैदानले तय गर्नेछ । तर परिणाम जे आए पनि जुड बेलिङ्घम र एर्लिङ हालान्डको मित्रता भने त्यसबाट प्रभावित नहुनेमा फुटबल समर्थक विश्वस्त देखिन्छन् ।

प्रतिक्रिया