धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते


काठमाडौं । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान उपमेयर सवार सरकारी गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार बिहान बडहरीबाट बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार पाँच जना र सरकारी गाडीमा रहेका तीन जना गरी आठ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया, धनुषा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एम्बुलेन्स चालक ४९ वर्षीय दिपेन्द्रकुमार महतो, ४५ वर्षीय बसन्तकुमार सिंह, ६० वर्षीया राजु देवी र ६५ वर्षीय लक्ष्मी महतो सामान्य घाइते भएका छन् भने ४० वर्षीया रेणु कुमारी महतो मध्यम घाइते भएकी छन्। राजु देवी पक्षघात (प्यारालाइसिस) की बिरामी रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी सरकारी गाडी चालक ५० वर्षीय बद्री भुजेल, धनुषाधाम नगरपालिकाकी उपमेयर ६५ वर्षीया विद्दा भुजेल तथा ७० वर्षीय भीमराज भुजेल पनि सामान्य घाइते भएका छन् ।