पश्चिम एसियाको अवस्था के छ ? इरान र अमेरिका के भनिरहेका छन् ?

पश्चिम एसियाको अवस्था के छ ? इरान र अमेरिका के भनिरहेका छन् ?


एजेन्सी । इरानले होर्मुज जलडमरूमध्य बन्द गरेपछि अमेरिकाले फेरि नयाँ चरणको सैन्य आक्रमण गरेको जनाएको छ। त्यसको प्रत्युत्तरमा इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई निशाना बनाउने प्रयास गरेको दाबी गरिएको छ।

अमेरिकाले इरानमाथि नयाँ चरणको आक्रमण गरेको जनाएको छ। यसअघि इरानले होर्मुज जलडमरूमध्य हुँदै गइरहेको एक जहाजमाथि आक्रमण गरेको थियो।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानका करिब १४० सैन्य ठेगानालाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ।

यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अर्को सूचना नआएसम्म होर्मुज जलडमरूमध्य बन्द गरिएको जनाएको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार, आईआरजीसीले जहाजले आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेको र तोकिएको समुद्री मार्गबाट विचलित भएकाले आक्रमण गरिएको दाबी गरेको छ।

सेन्टकमका अनुसार यस साता इरानविरुद्ध तेस्रो चरणको आक्रमण सञ्चालन गरिएको हो। सेन्टकमले साइप्रसको झण्डा बोकेको एक जहाजमाथि आईआरजीसीले खुला रूपमा आक्रमण गरेको आरोप लगाएको छ। आक्रमणका कारण जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेपछि एमभी जीएफएस ग्यालेक्सी ले आफ्नो यात्रा जारी राख्न नसकेको सेन्टकमले जनाएको छ।

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले उक्त जानकारी साझा गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “इरानले गलत निर्णय गर्‍यो, अब त्यसको मूल्य चुकाउनुपर्नेछ।”

यसअघि आईआरजीसीले होर्मुज जलडमरूमध्य बन्द गरिएपछि अमेरिकाबाट हुने कुनै पनि आक्रामक कारबाहीको कडा जवाफ दिइने र क्षेत्रमा रहेका नयाँ सैन्य लक्ष्यहरूलाई समेत निशाना बनाइने चेतावनी दिएको थियो।

यसैबीच, अमेरिकाले इरानको दक्षिणी तटीय क्षेत्रमा रहेका विभिन्न सैन्य अड्डा र सञ्चार टावरहरूमा हवाई आक्रमण गरेको जनाइएको छ। त्यसको प्रत्युत्तरमा आईआरजीसीले जोर्डनस्थित प्रिन्स हसन एयर बेस मा आक्रमण गरेको दाबी गरेको छ।

आईआरजीसीका अनुसार उक्त आक्रमणबाट अमेरिकी सेनाको कमाण्ड तथा कन्ट्रोल सेन्टर र एमक्यू–९ ड्रोन राखिएको ह्याङ्गर ध्वस्त भएको छ।

यी घटनापछि बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) पनि उच्च सतर्कतामा गएका छन्। बीबीसी अरबी सेवाका अनुसार बहराइनको गृह मन्त्रालयले देशभर साइरन बजाइएको जनाएको छ। यूएईको गृह मन्त्रालयले पनि सम्भावित मिसाइल आक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा तयारी गरिएको जनाएको छ।

यसै साता सुरुवातमा ओमानको समुद्री क्षेत्रमा अमेरिकाले सुझाएको मार्ग हुँदै गइरहेका तीन वटा व्यापारिक तेल ट्याङ्करमाथि पनि आक्रमण भएको थियो। इरानले भने आफ्नै समुद्री क्षेत्र हुँदै जाने मार्ग मात्र सुरक्षित रहेको दाबी गर्दै आएको छ।

यी घटनापछि अमेरिकाले इरानमाथि श्रृंखलाबद्ध आक्रमण गरेको थियो। इरानी अधिकारीहरूका अनुसार ती आक्रमणमा १७ जनाको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन्।

त्यसको जवाफस्वरूप इरानले खाडी क्षेत्रमा रहेका अमेरिकाका सहयोगी राष्ट्रहरूका लक्ष्यमा आक्रमण गरेको जनाएको छ। यसले क्षेत्रीय तनाव झनै चर्किएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आक्रमणहरूले युद्धविरामको अवस्था समाप्त भएको संकेत दिएको बताएका छन्। यता, इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले भएको सहमति उल्लंघन गरेको आरोप लगाएका छन्।

यद्यपि ट्रम्पले वार्ता प्रक्रिया अझै जारी रहेको र मध्यस्थकर्ताहरूले पुनः संवाद सुरु गराउने प्रयास गरिरहेको बताएका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानले अमेरिकी अधिकारीहरूलाई ट्याङ्करमाथिको आक्रमण भूलवश भएको र त्यसका लागि आफ्नो नियन्त्रणबाहिरको एक समूह जिम्मेवार रहेको सन्देश पठाएको छ।

अमेरिकी अधिकारीहरूले पनि मध्यस्थकर्तामार्फत आफ्ना मागहरू इरानसमक्ष पुर्‍याइएको बताएका छन्। अमेरिकाले इरानले सार्वजनिक रूपमा होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय जलयातायातका लागि खुला रहेको घोषणा गर्नुपर्ने तथा व्यापारिक जहाजमाथिको आक्रमण रोक्ने प्रतिबद्धता जनाउनुपर्ने माग राखेको छ।

यता, इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल माजिद बिन रेजाले अमेरिका र इजरायलसँग हालै भएको युद्धपछि इरानको ड्रोन उत्पादन क्षमता तीन गुणाले बढेको दाबी गरेका छन्।

सरकारी समाचार संस्था आईआरएनएका अनुसार सांसदहरूसँगको छलफलमा उनले गत वर्ष इजरायलसँग भएको १२ दिने द्वन्द्व र यस वर्ष अमेरिका तथा इजरायलसँग भएको युद्धको समीक्षा गर्दै “शत्रु १५० भन्दा बढी ठूला प्रविधि कम्पनीको सहयोग र अत्याधुनिक हतियारसहित युद्धमा आएको थियो, तर सशस्त्र बलका सर्वोच्च नेताको मार्गदर्शन र जनसमर्थनका कारण पराजित भयो,” भने।

उनले युद्धको चरम अवस्थामासमेत रक्षा सामग्री उत्पादनमा कुनै अवरोध नआएको र त्यस अवधिमा इरानको ड्रोन उत्पादन क्षमता तीन गुणाले वृद्धि भएको दाबी गरे।

उनका अनुसार उक्त युद्धले इरानको रक्षा प्रविधि विकासलाई थप गति दिएको छ र शत्रुपक्षका कमजोरीको सही पहिचान गर्नु भविष्यका लागि महत्वपूर्ण रहेको उनले जोड दिए।