मधेश प्रदेशसभामा निरन्तर अवरोधपछि सर्वदलीय कार्यदल गठन

मधेश प्रदेशसभामा निरन्तर अवरोधपछि सर्वदलीय कार्यदल गठन


जनकपुर । मधेश प्रदेशसभामा बजेट पुनर्लेखन लगायतका मागहरू राख्दै विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सर्वदलीय कार्यदल गठन गरिएको छ ।

आज बसेको बैठकमा सभामुख राम अशिष यादवले सर्वदलीय कार्यदल गठन गरिएको जानकारी गराएका छन् । सात जना सांसदहरू रहेको यस कार्यदलमा जसपा सांसद उपेन्द्र महतो, सांसद हरिन्द्र नारायण महतो, सांसद प्रमोद कुमार यादव, सांसद सन्जय कुमार यादव, सांसद विमला अन्सारी, सांसद सरिता कुमारी ठाकुर र सांसद जंगीलाल राय रहेका छन्।

कार्यदलले आफ्नो कार्यविधि आफैँ बनाउने सभामुखले जानकारी दिए । कार्यदलले आजकै दिनदेखि काम गर्ने जनाइएको छ भने भोलि (सोमबार) विहान कार्यदलको पहिलो बैठक पनि डाकिएको छ ।

मधेश प्रदेशसभामा आगामि वर्षको बजेट प्रस्तुत भएदेखि विपक्षी दलहरूले बजेटमा व्यापक असन्तुष्टि जनाउँदै पुनर्लेखनको मागसहित बैठक अवरुद्ध गर्दै आएका छन् । आज गठन भएको कार्यदलले असन्तुष्ट दलहरूसंग समन्वय गर्नुका साथै बजेटमा भनिएका त्रुटिहरूको समाधानका निम्ति सहमतीको वातावरण मिलाउनेछ । प्रदेशसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।