गणेश नेपाली मृत्यु प्रकरण : परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपाली मृत्यु प्रकरण : परिवार र सरकारबीच ९ बुँदे सहमति


काठमाडौं । आत्मदाह प्रयासपछि वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएका मुगुको सोरु गाउँपालिका–१, जवलधाराका २५ वर्षीय गणेश नेपालीका परिवारलाई राहत, रोजगारी, उच्च शिक्षादेखि घटनाको निष्पक्ष छानबिनसम्मका विषय समेटिएको ९ बुँदे सहमति नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच भएको छ ।

आज भएको उक्त सहमतिमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा नेपाल सरकार, काठमाडौं महानगरपालिका तथा पीडित परिवारका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार नेपालीको मृत्यु भएको घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । उक्त समितिले गठन भएको मितिले सात दिनभित्र आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाउनेछ ।

साथै, नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतका अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

घटना भएको दिन फिल्डमा खटिएका काठमाडौं महानगर प्रहरी बलका कर्मचारीलाई हालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने र छानबिन आयोगको प्रतिवेदन तथा सिफारिसका आधारमा थप कारबाही अघि बढाइने उल्लेख गरिएको छ ।

सहमतिपत्रमा मृतककी श्रीमतीलाई उनको योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गर्ने उल्लेख छ । त्यस्तै, मृतककी छोरीको उच्च शिक्षासम्म अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने र यसका लागि नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक समन्वय गर्नेछन् ।

यस्तै, काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गरी मृतकका आश्रित परिवारलाई राहतस्वरूप उपयुक्त रकम उपलब्ध गराइने सहमति भएको छ ।

मृतकको अन्तिम संस्कारका लागि आवश्यक सम्पूर्ण व्यवस्था तथा काठमाडौंमा गरिने काजक्रियाको व्यवस्थापन महानगरपालिकाले गर्नेछ । साथै, पीडित परिवार र आफन्तको तर्फबाट शव बुझ्ने, पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया सहज बनाउन पनि सम्बन्धित निकायले सहयोग गर्ने जनाइएको छ ।

मृतकका एकाघरका परिवारजनको काठमाडौं आउजाउ (यातायात), बसोबास र काजक्रियासम्मका सम्पूर्ण खर्च पनि काठमाडौं महानगरपालिकाले नै व्यहोर्ने सहमति भएको छ ।

त्यसैगरी, पीडित परिवारका एकाघरका सदस्यको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत गरिने उल्लेख गरिएको छ ।

सहमतिपत्रको प्रस्तावनामा गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति नेपाल सरकार र काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै परिवारलाई उचित राहत, रोजगारी, उच्च शिक्षाको व्यवस्था तथा घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् ।