रास्वपाले सञ्चारगृहअघि शंकास्पद गाडीबारे सार्वजनिक गर्यो धारणा

रास्वपाले सञ्चारगृहअघि शंकास्पद गाडीबारे सार्वजनिक गर्यो धारणा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।सोमबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै सञ्चारगृह र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको उल्लेख गरेका छन् ।
पार्टीले स्वतन्त्र र निर्भिक पत्रकारिता लोकतन्त्रको आधार भएको भन्दै कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगलाई संकुचित पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ। रास्वपाले प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यका यस्ता गतिविधिको भर्त्सना गर्दै घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ।

साथै, सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग आग्रह गरेको छ।
महामन्त्री विपिन कुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा रास्वपाले सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गर्दै सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा पार्टी सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।