काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय काठमाडौं जिल्ला अदालतले निर्धारण गरेको छ। मंगलबार अदालत यसअघि नै दोषी ठहर भएकाहरूको सजाय तय गरेको हो ।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई मुख्य कसुरदार ठहरिएका छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाँण, शरणार्थी नेता टेकनाथ रिजाललगायतलाई भने मतियारका रूपमा दोषी ठहर गरिएको छ।
सजाय निर्धारणअघि अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादी पक्षका कानुन व्यवसायीलाई आवश्यक जानकारी गराउँदै सजायपूर्वको प्रतिवेदन तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न आदेश दिएको थियो।
काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध दोषी ठहर भएका प्रतिवादीहरूले अब उच्च अदालत हुँदै सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन्।
यो मुद्दामा ३१ जनाविरुद्ध अभियोग दायर गरिएको थियो। अदालतले १६ जनालाई दोषी ठहर गरेको छ भने ७ जनाले सफाइ पाएका छन्। बाँकी प्रतिवादीको हकमा अभियोगअनुसार फरक–फरक फैसला भएको थियो।
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा कसुर ठहर भएको ३० दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था छ।
सजाय
४ वर्ष कैद, ४० हजार जरिवाना: केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, विक्रम भट्ट (गोविन्दकुमार चौधरी), आइटवा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी।
२ वर्ष कैद, २० हजार जरिवाना: टेकनाथ रिजाल र बालकृष्ण खाँण।
१ वर्ष कैद, १० हजार जरिवाना: नरेन्द्र के.सी., शमशेर मियाँ, हरिभक्त महर्जन र निरजकुमार खरेल।

प्रतिक्रिया