काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रको ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिद प्रकरणमा पूर्वकार्यकारी निर्देशक सुनील पौडेलसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक र वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठलाई दोषी ठहर गर्दै जनही तीन महिना कैद र १० हजार रुपैयाँ जरिबाना सुनाएको हो । पौडेललाई भने थप तीन महिना कैद सजाय पनि तोकिएको छ ।
अदालतले वर्ल्ड डिस्ट्रिब्युसन नेपाललाई पनि १० हजार रुपैयाँ जरिबाना गरेको छ भने सबै दोषीबाट पीडित राहत कोषमा जनही ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गराउन आदेश दिएको छ ।
केन्द्रका लेखा अधिकृत निमबहादुर वलीलाई भने संलग्नता नदेखिएको भन्दै अदालतले सफाइ दिएको छ ।
अदालतका अनुसार आर्थिक वर्ष २०७६/७७ मा गरिएको खरिदमा सम्झौताअनुसार २.४ गिगाहर्ज प्रोसेसर आपूर्ति गर्नुपर्नेमा २.१ गिगाहर्ज क्षमताको प्रोसेसर आपूर्ति गरिएको थियो, जुन सम्झौताभन्दा १४.२८ प्रतिशत कम क्षमता भएको पुष्टि भएको थियो । यद्यपि उपकरण सञ्चालनमै रहेकाले बिगो रकम हिनामिना भएको भने नदेखिएको अदालतले जनाएको छ ।

प्रतिक्रिया