रास्वपाका नेता मनिष झाको सरकार प्रति कडा आपत्ति

रास्वपाका नेता मनिष झाको सरकार प्रति कडा आपत्ति


सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले आफ्नै पार्टी नेतृत्वको सरकारमाथि शंका व्यक्त गरेका छन् ।  सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रास्वपा नेता झाले राज्य संरक्षित योजनाअनुसार काठमाडौंका मिडिया हाउसका कार्यालयअगाडि गाडी तेर्स्याएको घटनालाई लिएर सरकारको राजकाज सञ्चालनप्रति शंका व्यक्त गरेका हुन् ।

सञ्चार गृह तथा अन्य सार्वजनिक स्थानमा गाडी राखेर अवरोध सिर्जना गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दै उनले त्यसमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने बताए । ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,’ उनले लेखेका छन् ।   उनले राज्यको दायित्व नागरिकका चिन्ता र समस्याको समाधान गर्नु भएको भन्दै राज्य आफैँले नागरिकलाई थप आतङ्कित बनाउने काम गर्न नहुने बताए ।

‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो । राज्यले आफैँ थप आतंकित बनाउने होइन । यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेन–जी सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ’, झाले सामाजिक सञ्जालमा लेखेका छन् । उनले उक्त घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।