काठमाडौं। कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीको धरपकडका क्रममा घाइते भएका जेन जी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
शनिबार होल्डिङ सेन्टर पुगेका बेला प्रहरीले बल प्रयोग गरी उनलाई नियन्त्रणमा लिएको थियो। सोही क्रममा उनी घाइते भएपछि स्वास्थ्य अवस्था बिग्रिएकाले प्रहरी हिरासतबाटै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
उपचारपछि शिक्षण अस्पतालले बुधबार माजिदलाई डिस्चार्ज गरेको छ। राष्ट्रिय मानवअधिकार आयोगको रोहबरमा उनी प्रहरी हिरासतबाट पनि रिहा भएका छन्।
माजिदका कानुन व्यवसायीका अनुसार अब घटनासम्बन्धी बाँकी कानुनी प्रक्रिया तथा आफूले भोगेको भनिएको यातनाविरुद्ध कानुनी उपचारका लागि अघि बढ्नेछ। यस सम्बन्धमा मानवअधिकार आयोगको प्रतिवेदनका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने उनीहरूको भनाइ छ।
यसअघि माजिदमाथि भएको धरपकड र कुटपिटको घटनाको विरोधमा सडकदेखि संसद्सम्म आवाज उठेको थियो। मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज तथा जेन जी अभियन्ताहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आएका छन्।

प्रतिक्रिया