काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ग्ल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेको अर्जेन्टिना खेलपछि भने नयाँ विवादमा तानिएको छ। खेल सकिएलगत्तै अर्जेन्टिनी खेलाडीहरूले मैदानमा राजनीतिक सन्देशसहितको ब्यानर प्रदर्शन गरेपछि उनीहरू फिफाको अनुशासनात्मक कारबाहीको जोखिममा परेका हुन्। अर्जेन्टिनाका खेलाडीहरूले प्रदर्शन गरेको ब्यानरमा ‘फकल्याण्ड टापु भनेर चिनिने माल्भिनास अर्जेन्टिनाकै हुन्’ भन्ने सन्देश लेखिएको थियो। उक्त सन्देशलाई राजनीतिक अभिव्यक्तिका रूपमा हेरिएको छ, जसले अन्तर्राष्ट्रिय फुटबल नियमको उल्लङ्घन गरेको चर्चा सुरु भएको छ।
फकल्याण्ड टापुहरू दक्षिण एट्लान्टिक महासागरमा अवस्थित छन्। ती टापुहरू हाल बेलायतको नियन्त्रणमा रहे पनि अर्जेन्टिनाले लामो समयदेखि आफ्नो सार्वभौम दाबी गर्दै आएको छ र तिनलाई ‘माल्भिनास’ नामले सम्बोधन गर्छ। यही विवादका कारण सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच युद्धसमेत भएको थियो।
फिफा तथा अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी) का नियमअनुसार फुटबल मैदानमा कुनै पनि प्रकारका राजनीतिक, धार्मिक वा वैचारिक सन्देश, नारा वा प्रतीक प्रदर्शन गर्न निषेध गरिएको छ। खेललाई राजनीतिक विवादबाट टाढा राख्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। यसै कारण अर्जेन्टिनाको उक्त कदममाथि फिफाले छानबिन गर्न सक्ने र टोली वा सम्बन्धित खेलाडीमाथि अनुशासनात्मक कारबाही अथवा आर्थिक जरिवाना लगाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
यद्यपि, यस विषयमा फिफाले हालसम्म कुनै औपचारिक निर्णय वा प्रतिक्रिया सार्वजनिक गरेको छैन। फाइनलअघि उत्पन्न भएको यो विवादले विश्व फुटबलमा थप चर्चा पाएको छ।

प्रतिक्रिया