ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेको ललितपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कसजुमाथि बुद्ध एयरमै ग्राउण्ड ह्याण्डलिङ स्टाफका रूपमा कार्यरत आफ्नै पत्नीलाई कुटपिट गरेको आरोप लागेको हो। घटनापछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार कसजुमाथि कुटपिटसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको छ। उनलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने तयारी गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, कसजु विगत १० दिनदेखि बुद्ध एयरको उडान ड्युटीमा अनुपस्थित रहेको खुलेको छ। एयरलाइन्सले उनको खोजी गर्ने क्रममा उनी प्रहरी हिरासतमा रहेको जानकारी पाएको स्रोतले जनाएको छ।
घटनाबारे बुद्ध एयरले हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। प्रहरीले भने घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया