रवि–बालेन छलफलपछि मन्त्री हेरफेर र पदाधिकारी टुंग्याउन झन समस्या

रवि–बालेन छलफलपछि मन्त्री हेरफेर र पदाधिकारी टुंग्याउन झन समस्या


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच गत आइतबार भएको करिब चार घण्टाको छलफलमा मन्त्री फेरबदल र पार्टी पदाधिकारी मनोनयनका विषयमा सहमति जुट्न नसकेको खुलेको छ।
रवि र बालेननिकट नेताहरूका अनुसार असार २८ गते बिहान साढे ११ बजेदेखि भएको भेटमा सरकारको कामकारबाहीको समीक्षा, मन्त्रीहरूको कार्यसम्पादन, पार्टी पदाधिकारी मनोनयन तथा सचिवालय गठनलगायत विषयमा विस्तृत छलफल भएको थियो। तर कुनै पनि विषयमा अन्तिम निर्णय हुन सकेन।  प्रधानमन्त्री बालेनको सचिवालयका एक सदस्यका अनुसार केही मन्त्रीको कार्यसम्पादन अपेक्षाअनुसार नभएको भन्दै प्रधानमन्त्री शाहले मन्त्री हेरफेरको प्रस्ताव राखेका थिए। तर सभापति लामिछानेले प्रधानमन्त्री सचिवालयका केही सदस्यको भूमिकाप्रति असन्तुष्टि जनाउँदै त्यहाँ पनि परिवर्तन आवश्यक रहेको धारणा राखेका थिए।
‘केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक छैन, फेरबदल गरेर अघि बढौँ भन्ने प्रधानमन्त्रीको प्रस्ताव थियो,’ ती सदस्यले भने, ‘तर सभापतिले सचिवालयका केही व्यक्तिबारे पनि प्रश्न उठाउनुभयो। त्यसमा सहमति जुट्न सकेन।’

स्रोतका अनुसार दुवै नेताले आ–आफ्नो असन्तुष्टि रहेका केही व्यक्तिलाई हटाउने प्रस्ताव राखे पनि कसको नाममा सहमति हुने भन्ने विषय टुंगो लाग्न सकेन। छलफलमा मन्त्रिपरिषद् र प्रधानमन्त्री सचिवालय दुवैतर्फको पुनर्संरचनाको विषय उठेपछि अन्य एजेन्डा ओझेलमा परेका थिए। रविनिकट एक नेताले भने सरकार रास्वपाको घोषणापत्र र वाचापत्रअनुसार नै अघि बढ्ने स्पष्ट पारे। उनका अनुसार कार्यसम्पादनका आधारमा मन्त्री फेरबदल हुन सक्ने भए पनि सरकारको नीति र नेतृत्वबारे अहिले कुनै परिवर्तनको निर्णय भएको छैन।

ती नेताले सरकारको सय दिन पूरा भएपछि उठ्न थालेका आलोचना र हल्लालाई नियन्त्रण गर्दै सरकारको कामलाई थप प्रभावकारी बनाउने विषयमा पनि दुई नेताबीच छलफल भएको बताए।   सभापति लामिछानेले प्रधानमन्त्री शाहसँग सुकुमवासी समस्याको समाधान प्रभावकारी रूपमा अघि बढाउने र आम नागरिकलाई अनावश्यक दुःख नदिने विषयमा पनि कुराकानी भएको बताएका छन्। भेटपछिको दिन उनले छलफल सौहार्दपूर्ण र सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।

छलफलको अर्को महत्वपूर्ण एजेन्डा पार्टीको संगठन विस्तार थियो। चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित नेतृत्वपछि सभापति लामिछानेले वरिष्ठ नेतासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सचिवालय सदस्य र केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ।  निवर्तमान महामन्त्री भूपदेव शाहले शीर्ष नेतृत्वको बैठकमा पदाधिकारी मनोनयनबारे छलफल भए पनि कुनै निर्णय नभएको बताए। ‘निर्णय भएको भए हामीलाई जानकारी आउँथ्यो, अहिलेसम्म कुनै सूचना प्राप्त भएको छैन,’ उनले भने।

महामन्त्री विपिन आचार्यले पनि शीर्ष नेताबीच सरकार सञ्चालन र पार्टी व्यवस्थापनका विविध विषयमा छलफल भएको पुष्टि गर्दै सरकार सही दिशामा अघि बढिरहेको दाबी गरे। उनका अनुसार सरकार गठन भएको करिब सय दिन मात्रै भएकाले अहिले नै अन्तिम मूल्यांकन गर्ने समय नभएको बताए।