विश्वकपको उपाधि जित्ने इंग्ल्यान्डको ६० वर्ष लामो सपना फेरि एकपटक अधुरै रहन पुगेको छ। जारी फिफा विश्वकप २०२६ को सनसनीपूर्ण सेमिफाइनल खेलमा साबिक विजेता अर्जेन्टिनासँग २-१ गोल अन्तरले पराजित भएपछि इंग्ल्यान्डको फाइनलको यात्रा टुङ्गिएको हो। बुधबार राति एटलान्टामा भएको यो बिर्सनलायक हारपछि इंग्लिस फुटबलका महान् खेलाडी डेभिड बेकह्यामले गहिरो दुःख व्यक्त गरेका छन्। यद्यपि, उनले टोलीको यहाँसम्मको यात्रा र समर्थकहरूको साथको खुलेर प्रशंसा गरे। आफ्नो इन्स्टाग्राम एकाउन्टमा टोली र समर्थकहरूको तस्बिर सेयर गर्दै बेकह्यामले लेखेका छन्।
“हामी सबैका लागि यो क्षण अत्यन्तै हृदयविदारक छ, तर यो यात्राले हामीलाई सधैं प्रेरित गर्नेछ र यी सम्झनाहरू मनमा ताजा रहनेछन्। यो विश्वकपमा टोली, हाम्रा फ्यानहरू र देशले देखाएको ऐक्यबद्धताका लागि हृदयदेखि धन्यवाद।”
खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र दबाबपूर्ण रहेको थियो। दुवै टोलीले मिडफिल्डमा नियन्त्रण जमाउन संघर्ष गरे पनि गोलका स्पष्ट अवसरहरू सिर्जना गर्न सकेनन्। दोस्रो हाफ सुरु भएको १० मिनेटमै मोर्गन रोजर्सको उत्कृष्ट क्रसलाई एन्थोनी गोर्डनले पोस्टको दिशा दिँदै इंग्ल्यान्डलाई १-० को अग्रता दिलाए। सन् १९६६ पछि पहिलोपटक फाइनल पुग्ने इंग्लिस समर्थकको आशा यस गोलसँगै बढेको थियो।
गोल गरेपछि इंग्ल्यान्ड रक्षात्मक खेलतर्फ लाग्यो, जसको फाइदा उठाउँदै अर्जेन्टिनाले लगातार दबाब सिर्जना गर्यो। इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले केही उत्कृष्ट बचाउ गरे भने अर्जेन्टिनाका अलेक्सिस म्याक एलिस्टेरको प्रहार पोस्टमा लागेर फर्किएको थियो।
खेल सकिन ५ मिनेट बाँकी छँदा फुटबलका जादुगर लियोनेल मेसीको पासमा एन्जो फर्नान्डेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई १-१ को बराबरीमा ल्याए।
खेल अतिरिक्त समयतर्फ धकेलिने अनुमान गरिएका बेला, इन्जुरी समयमा मेसीको सटिक क्रसलाई लाउटारो मार्टिनेजले आकर्षक हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २-१ को रोमाञ्चक जित दिलाए । यो जितसँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ। उपाधिका लागि अर्जेन्टिनाले जुलाई १९ मा स्पेनको सामना गर्नेछ।
सेमिफाइनलमा पराजित इंग्ल्यान्डले अब तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया