काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान समाजमा असत्यलाई निरन्तर दोहोर्याएर सत्यझैँ स्थापित गर्ने प्रवृत्ति मौलाएको भन्दै त्यसलाई ‘महागोयबल्स’ शैलीको संज्ञा दिएका छन् ।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको आधिकारिक वेबसाइट र मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै ओलीले अहिले तथ्यलाई तोडमोड गरेर प्रस्तुत गर्ने र जनमानसलाई भ्रममा पार्ने अभ्यास बढ्दै गएको टिप्पणी गरे ।
उनले जर्मनीका नाजी शासनकालका प्रचारमन्त्री पल जोसेप गोयबल्सको नाम उल्लेख गर्दै पहिले झूटलाई पटक–पटक दोहोर्याएर सत्यझैँ स्वीकार गराउने शैली प्रचलित रहेको स्मरण गराए । अहिले भने त्यसभन्दा पनि बढ्ता रूपमा असत्यलाई स्थापित गर्ने प्रयास भइरहेको उनको भनाइ थियो ।
ओलीले कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो सावित गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै यस्ता गतिविधिलाई समाजले सहज रूपमा पत्याउन थालेकोमा चिन्ता व्यक्त गरे ।
समाज सत्यभन्दा भ्रममा बढी रमाउन थालेको जस्तो महसुस भइरहेको भन्दै उनले सत्य बोल्ने र सही कुरामा अडिने संस्कार कमजोर बन्दै गएको संकेत देखिएको बताए ।

प्रतिक्रिया