फाइनलअघि तनावमा अर्जेन्टिना, फिफाले अगाडि बढायो अनुसन्धान

फाइनलअघि तनावमा अर्जेन्टिना, फिफाले अगाडि बढायो अनुसन्धान


काठमाडौं । इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा जितेको खुसियालीमा अर्जेन्टिनाका खेलाडीहरूले आफ्नो देशको फकल्यान्ड (माल्भिनास) द्वीपसमूहमाथिको दाबीलाई समर्थन गर्ने ब्यानर प्रदर्शन गरेपछि फिफाले त्यसबारे प्राप्त खेल प्रतिवेदनहरूको अध्ययन गरिरहेको जनाएको छ।

विश्वकपको साविक विजेता अर्जेन्टिनाले एटलान्टामा भएको सेमिफाइनलमा खेलको अन्तिम समयमा दुई गोल गर्दै प्रशिक्षक थोमस टुखेलको नेतृत्वमा रहेको इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको थियो। यससँगै अर्जेन्टिनाले आइतबार हुने फाइनलमा स्पेनसँग खेल्ने अवसर सुरक्षित गरेको छ।

खेल समाप्त भएपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘Las Malvinas son Argentinas’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए, जसको अर्थ ‘फकल्यान्ड (माल्भिनास) अर्जेन्टिनाकै हो’ भन्ने हुन्छ।

दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको फकल्यान्ड द्वीपसमूह बेलायतको विदेशस्थित भूभाग (British Overseas Territory) हो। तर यसको सार्वभौमिकताबारे बेलायत र अर्जेन्टिनाबीच दशकौँदेखि विवाद रहँदै आएको छ।

फिफाले के भन्यो?

फिफाका एक प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सामान्य प्रक्रियाअनुसार फिफाको स्वतन्त्र अनुशासन समिति अहिले खेलसम्बन्धी प्रतिवेदनहरूको अध्ययन गरिरहेको छ। सम्बन्धित परिस्थितिको मूल्याङ्कनपछि फिफाको अनुशासन संहिताअनुसार आवश्यक थप कदम चाल्ने वा नचाल्ने निर्णय गरिनेछ।’

यसअघि सन् २०१४ मा पनि अर्जेन्टिनाको फुटबल संघले स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि यस्तै सन्देश भएको ब्यानर प्रदर्शन गरेपछि फिफाबाट २० हजार पाउन्ड जरिवाना तिर्नुपरेको थियो। त्यतिबेला फिफाले उक्त गतिविधिलाई राजनीतिक सन्देश प्रवाह तथा टोलीको अनुशासनविपरीत ठहर गरेको थियो।

बेलायत सरकारको प्रतिक्रिया

बेलायती प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले फिफाले घटनाको अनुसन्धान गर्नुपर्ने मागलाई समर्थन गरेको छ। प्रधानमन्त्रीका आधिकारिक प्रवक्ताले भने, ‘विश्वकप हाम्रो नहुन सक्छ, तर फकल्यान्ड द्वीपसमूह निश्चित रूपमा हाम्रो हो। फकल्यान्डप्रतिको हाम्रो प्रतिबद्धता कहिल्यै कमजोर हुने छैन।’

अर्जेन्टिनाका राष्ट्रपति मिलेईको धारणा

अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले खेलाडीहरूको कदमलाई ‘स्वाभाविक’ र ‘उचित’ भनेका छन्। यद्यपि उनले रेडियो एल अब्जर्भाडोरसँग कुरा गर्दै खेल र कूटनीतिलाई छुट्टाछुट्टै राख्नुपर्ने बताएका छन्।

उनले भने, ‘माल्भिनास अर्जेन्टिनाकै हो। हामी त्यसलाई फिर्ता ल्याउनेछौँ, तर बुद्धिमानीपूर्वक कूटनीतिक माध्यमबाट। मैदानमा हुने गतिविधि कूटनीतिक प्रक्रियाको हिस्सा होइन।’

फकल्यान्ड युद्धको पृष्ठभूमि

सन् १९८२ मा जनरल लियोपोल्डो गाल्टिएरी नेतृत्वको सैनिक शासनकालमा अर्जेन्टिनाले आफ्नै पूर्वी तटबाट करिब ३०० माइल टाढा रहेको फकल्यान्ड द्वीपसमूहमाथि आक्रमण गरेको थियो।

अप्रिलदेखि जुनसम्म ७४ दिन चलेको उक्त युद्धमा ६४९ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक तथा द्वीपका तीन स्थानीय बासिन्दाको मृत्यु भएको थियो।

सन् २०१३ मा आयोजित जनमतसंग्रहमा फकल्यान्डका बासिन्दाले अत्यधिक बहुमतका साथ बेलायतको विदेशस्थित भूभागकै रूपमा रहने पक्षमा मतदान गरेका थिए। कुल १,५१७ मतमध्ये १,५१३ मत बेलायतसँगै रहने पक्षमा परेको थियो भने विपक्षमा केवल तीन मत परेको थियो।

अर्जेन्टिनामाथि कस्तो कारबाही हुन सक्छ?

फिफाले प्रतियोगिता सकिएपछि खेलाडी वा समर्थकबाट भएका नियम उल्लंघनका घटनामा प्रायः अनुशासनात्मक कारबाही गर्ने गर्छ। यद्यपि, यसपटक विवाद विश्वकपको सेमिफाइनलमा बेलायत र अर्जेन्टिनाबीच भएको खेलसँग जोडिएकाले यसलाई बढी गम्भिर रूपमा लिन सकिने अनुमान गरिएको छ।

तर फिफाले अर्जेन्टिनालाई विश्वकप फाइनलबाट हटाउने सम्भावना भने नरहेको बताइएको छ। बेलायतको लिबरल डेमोक्र्याट पार्टीका नेता एड डेभीले ब्यानर बोकेका अर्जेन्टिनी खेलाडीलाई स्पेनविरुद्धको फाइनलबाट निलम्बन गर्नुपर्ने माग गरेका छन्।

उनले सन् २०२४ को युरो कपपछि ‘जिब्राल्टर स्पेनको हो’ भन्ने नारा लगाएका स्पेनका खेलाडी आल्भारो मोराटा र रोड्रीलाई यूईएफएले एक–एक खेल प्रतिबन्ध लगाएको उदाहरण प्रस्तुत गरेका छन्।

त्यस्तै, सन् २०१२ को लन्डन ओलम्पिकपछि दक्षिण कोरियाका मिडफिल्डर पार्क जोङ–वुले ‘डोक्डो हाम्रो भूमि हो’ भन्ने सन्देश भएको प्लेकार्ड देखाएका कारण फिफाबाट दुई खेलको प्रतिबन्ध भोगेका थिए।

ब्यानरप्रति विभिन्न प्रतिक्रिया

फकल्यान्ड द्वीपसमूहको सरकारले उक्त ब्यानरप्रति निराशा व्यक्त गर्दै फिफाले आफ्नै नियमअनुसार यस्ता गतिविधिमाथि कारबाही गर्नुपर्ने जनाएको छ।

सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी खेलकुदमा राजनीति घुसाइएको देख्न चाहँदैनौँ।’

अर्जेन्टिनाका राष्ट्रपति मिलेईले भने खेलाडीहरूले आफ्नो धारणा व्यक्त गर्नु उचित भएको दोहोर्‍याए पनि त्यसलाई गलत अर्थ लगाउन नहुने बताएका छन्।

बेलायतका व्यापार तथा उद्योगमन्त्री पिटर काइलले विश्वकपलाई राजनीतिक विवादबाट टाढा राख्नुपर्नेमा जोड दिँदै फिफाले निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन्।

उनले भने, ‘हाम्रो टोलीले व्यावसायिकता र मर्यादा दुवै प्रदर्शन गर्‍यो। तर हिजो राति अर्जेन्टिनी टोलीबाट देखिएको व्यवहार त्यसको विपरीत थियो। अब त्यसको परिणामबारे निर्णय गर्ने जिम्मेवारी फिफाकै हो, र म निष्पक्ष अनुसन्धानको अपेक्षा गर्छु।’

बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ केमी बाडेनोखले पनि फिफाले घटनाको पूर्ण अनुसन्धान गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।