काठमाडौं ।अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले आफूले शिशु अवस्थामा काखमा बोकेका स्पेनका युवा स्टार लामिन यमालसँग विश्वकप फाइनल खेल्न लागेको क्षणलाई फुटबल इतिहासकै अनौठो संयोगका रूपमा वर्णन गरेका छन्। अर्जेन्टिना र स्पेनबीच सोमबार बिहान हुने फिफा विश्वकप २०२६ को फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा मेसीले सन् २००७ मा खिचिएको तस्बिर सम्झिँदै अहिलेको अवस्थाले आफूलाई अझै पनि अचम्मित बनाइरहेको बताए।
सन् २००७ मा यमाल पाँच महिनाका हुँदा बार्सिलोनाको एक परोपकारी फोटोसुटका क्रममा मेसीले उनलाई बाथटबमा नुहाइदिएको र काखमा बोकेको तस्बिर हाल पुनः सामाजिक सञ्जालमा भाइरल बनेको छ। यही तस्बिरबारे अमेरिकी फुटबलका महान् खेलाडी टम ब्राडीले प्रश्न गरेपछि मेसीले त्यसलाई विशेष संयोगको संज्ञा दिएका हुन्।
“त्यो तस्बिर अविश्वसनीय छ। अहिले हामी दुवै विश्वकप उपाधिका लागि एकअर्काविरुद्ध खेल्न लागिरहेका छौं भन्ने कुरा अझै पनि अचम्म लाग्ने विषय हो,” मेसीले भने।मेसीले यमाललाई अहिले विश्व फुटबलका उत्कृष्ट खेलाडीहरूमध्ये एकको रूपमा चित्रण गर्दै उनको प्रतिभाको खुलेर प्रशंसा गरे। “उनी अहिले विश्वका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। उनको सफलता बार्सिलोनाको सफलता पनि हुनेछ,” ३९ वर्षीय मेसीले बताए।
यद्यपि, फाइनलमा अर्जेन्टिनाले यमाललाई सहज रूपमा खेल्न नदिने स्पष्ट पार्दै उनले स्पेन केवल एक खेलाडीमा निर्भर नरहेको उल्लेख गरे। “हामी उनलाई आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नबाट रोक्ने प्रयास गर्नेछौं। स्पेन केवल यमालमा निर्भर टोली होइन, उनीहरूको समग्र टोली नै निकै बलियो छ,” मेसीले भने।
मेसीले यमाल असाधारण प्रतिभाका धनी र विश्वव्यापी स्टार खेलाडी भएको उल्लेख गर्दै उनको भविष्य अझ उज्ज्वल रहेको बताए। “उनी केवल १९ वर्षका छन्। उनको पूरा करिअर अगाडि छ। म उनलाई भविष्यका लागि शुभकामना दिन्छु, तर यसपटक उनी च्याम्पियन नबनून् भनेर हामी आफ्नो सबै शक्ति लगाउनेछौं,” उनले भने।
यमालले १५ वर्षको उमेरमै बार्सिलोनाबाट सिनियर टोलीमा डेब्यु गरेका थिए। उनले मेसीले लामो समयसम्म लगाएको प्रतिष्ठित नम्बर १० जर्सी पनि सम्हालिसकेका छन्। युरो २०२४ मा स्पेनलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका यमाल विश्वकप जित्न सफल भए युरोकप र विश्वकप दुवै जित्ने सबैभन्दा कान्छा खेलाडी बन्नेछन्।

प्रतिक्रिया