गगनसँग सहमति नजुटेपछि नयाँ पार्टी गठनको तयारीमा देउवा समूह

गगनसँग सहमति नजुटेपछि नयाँ पार्टी गठनको तयारीमा देउवा समूह


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टी सभापति गगन थापासँग एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकाल्दै राष्ट्रिय भेला बोलाउने तयारी गरेको छ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा आइतबार इतर पक्षका नेता पूर्णबहादुर खड्काको उपस्थितिमा बसेको देउवा समूहका शीर्ष नेताहरूको बैठकले पार्टी एकताको सम्भावना न्यून बन्दै गएको निष्कर्षसहित राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले बिपी स्मृति दिवसको तयारी, पार्टी एकताका लागि गठित समितिको गतिविधि, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल भएको जानकारी दिए।

उनका अनुसार साउन २४ देखि २९ गतेभित्र राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिएको छ। उक्त भेलाबाट आगामी राजनीतिक दिशा र रणनीतिबारे थप निर्णय गरिने उनले बताए। सभापति गगन थापासँग सहमतिको सम्भावना रहेको वा नरहेको भन्ने प्रश्नमा विश्वकर्माले अब मिल्ने सम्भावना ‘९९ प्रतिशत नदेखिएको’ बताए। उनका अनुसार संस्थापन पक्षबाट सहमतिका लागि प्रभावकारी पहल नभएकाले संवाद प्रक्रिया निष्कर्षमा पुग्न नसकेको हो। “हामी त बाहिर छौं, हामीले मिलाऔं भन्ने नै हो। तर उहाँहरू आउँछु भन्नुहुन्छ, सबै गर्छु भन्नुहुन्छ, तर भोलिपल्ट आउनुहुन्न। महिनौंसम्म कुनै पहल हुँदैन,” उनले भने।

विश्वकर्माले संस्थापन पक्षलाई नै एकताप्रति इच्छाशक्ति नरहेको हुनसक्ने दाबी गर्दै अब नयाँ राजनीतिक बाटोबारे तयारी अघि बढाइने बताए। उनका अनुसार नेतृत्व, नीति, राजनीतिक सिद्धान्त, संगठनात्मक संरचना, विधान तथा पार्टी सञ्चालनको विधिलगायत सबै विषयमा क्रमशः छलफल गरी समग्र प्याकेज तयार गरिनेछ। नयाँ दल गठनको सम्भावना र नेतृत्वबारे सोधिएको प्रश्नमा उनले सबै विषय एकैपटक प्याकेजका रूपमा टुंग्याइने बताए। पार्टीको नाम, चुनाव चिह्न तथा कानुनी र संगठनात्मक व्यवस्थासमेत आगामी छलफलका एजेन्डा रहने उनको भनाइ छ।