पुरानो समिति गाभ्ने प्रस्तावमा कांग्रेस संस्थापन असहमत

पुरानो समिति गाभ्ने प्रस्तावमा कांग्रेस संस्थापन असहमत


काठमाडौ ।  नेपाली कांग्रेसको संस्थापन पक्षले संस्थापनइतर समूहले अघि सारेको पाँच बुँदे प्रस्तावमध्ये पुरानो कार्यसमितिलाई वर्तमान समितिमा एकमुष्ट समायोजन गर्ने प्रस्तावबाहेक अन्य चार प्रस्तावमा सकारात्मक संकेत दिएको छ।

संस्थापनइतर समूहले पार्टी एकताका लागि १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनबाट बनेको वर्तमान केन्द्रीय समितिसँग एकीकृत गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो। तर संस्थापन पक्षले यस्तो व्यवस्था पार्टीको विधानअनुसार सम्भव नभएको स्पष्ट पारेको छ।

महामन्त्री गुरुराज घिमिरेका अनुसार विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय समिति गठन भइसकेकाले पुरानो समितिका सबै सदस्यलाई एकमुष्ट समायोजन गर्नु विधानसम्मत हुँदैन। उनले उक्त प्रस्तावबाहेक अन्य विषयमा सहमति खोज्न सकिने बताए।

सभापति गगन थापाले पनि पार्टीको विधि, विधान र प्रक्रियाभन्दा बाहिर गएर निर्णय गर्न नसकिने स्पष्ट गर्दै सबै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास जारी रहने बताएका छन्।

संस्थापनइतरले अघि सारेका कार्यसम्पादन समिति गठन, १५औँ महाधिवेशनको कार्यतालिका घोषणा तथा महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू गठन गर्ने प्रस्तावप्रति भने संस्थापन पक्ष सकारात्मक देखिएको छ। महाधिवेशनको मितिबारे पनि दुवै पक्षबीच छलफल जारी रहेको जनाइएको छ।

दुवै पक्षबीच औपचारिक तथा अनौपचारिक संवाद भइरहेकाले बाँकी विषयमा सहमति जुटाउने प्रयास जारी रहेको नेताहरूले बताएका छन्।