प्रधानमन्त्री र मन्त्रीहरू दलप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री र मन्त्रीहरू दलप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार सञ्चालनमा प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म सबै राजनीतिक नेतृत्व नेपाली जनता, आफ्ना राजनीतिक दल तथा सम्बन्धित नेतृत्वप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने बताएका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाबारे मंगलबार सबै मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा उनले सरकारको मुख्य प्राथमिकता सुशासन र भ्रष्टाचार नियन्त्रण रहेको उल्लेख गर्दै त्यसका लागि सबै तहमा जवाफदेहिता आवश्यक रहेको बताए।

उनका अनुसार सरकारले भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरेको छ र यसलाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्न कुनै सम्झौता नगर्ने स्पष्ट नीति लिएको छ। सुशासनलाई केवल नारा नभई शासन सञ्चालनको आधार बनाउनुपर्नेमा उनले जोड दिए।

अर्थमन्त्री वाग्लेले विगतका प्रशासनिक विकृति र विसंगतिलाई क्रमशः अन्त्य गर्दै राज्य संयन्त्रलाई बढी पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउने लक्ष्य रहेको बताए। उनले इमानदार र सक्षम कर्मचारीलाई प्रोत्साहन गर्ने नीति पनि सरकारले अघि बढाएको उल्लेख गरे।

उनले प्रशासनिक संयन्त्र र राजनीतिक नेतृत्वबीच समन्वय तथा उत्तरदायित्वको संस्कृति बलियो बनाउन सके मात्रै बजेट कार्यान्वयन प्रभावकारी हुने विश्वास व्यक्त गरे। साथै, राज्य सञ्चालनमा पारदर्शिता, इमानदारी र नतिजामुखी कार्यशैलीलाई प्राथमिकता दिन सबै निकायलाई आग्रह गरे।