राहुल, प्रियंका र अखिलेश यादव सहित भारतमा विपक्षी नेताहरू गिरफ्तार

राहुल, प्रियंका र अखिलेश यादव सहित भारतमा विपक्षी नेताहरू गिरफ्तार


काठमाडौं । भारतमा युवाहरूको प्रदर्शनका बीच प्रधानमन्त्री निवासमा प्रदर्शन गर्न पुगेका विपक्षी नेताहरू गिरफ्तार भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ककरोच जनता पार्टी ९सीजेपी० ले जन्तर–मन्तरमा जारी राखेको विरोध प्रदर्शनका बीच भारतीय राष्ट्रिय कांग्रेसका सांसदहरूले मंगलबार दिउँसो राहुल गान्धीको नेतृत्वमा प्रधानमन्त्री निवास ७ लोक कल्याण मार्ग अगाडि धर्ना दिएका छन्। कांग्रेस सांसदहरूले प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग गरेका थिए।
बीबीसीकी संवाददाता सुमेधा पालका अनुसार लोकसभाका प्रतिपक्षी नेता राहुल गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले हिरासतमा लिएको छ।
कांग्रेस प्रवक्ता पवन खेड़ाले राहुल र प्रियंकासँग प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका छन्। उनले उनीहरूलाई कहाँ लगिएको हो भन्ने जानकारीसमेत आफूहरूलाई नदिइएको बताएका छन्।
यसअघि प्रधानमन्त्री निवास नजिक धर्नामा बसेका राहुल गान्धी र अन्य कांग्रेस नेताहरूसँग भेट्न केन्द्रीय मन्त्री जितेन्द्र सिंह पुगेका थिए। भेटपछि उनले एक्समा लामो पोस्ट गर्दै राहुल गान्धीले आफूले गरेको सहमतिबाट पछि हटेको दाबी गरेका छन्।