फिफा विश्वकपका उत्कृष्ट खेलाडी घोषित भए मेस्सी

फिफा विश्वकपका उत्कृष्ट खेलाडी घोषित भए मेस्सी


काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबल इतिहास तथा तथ्याङ्क महासंघ (IFFHS) ले सन् २०२६ को फिफा विश्वकपको उत्कृष्ट खेलाडी (IFFHS Best Player) घोषित गरेको छ ।

आईएफएफएचएसले प्रतियोगिताभरको प्रदर्शनका आधारमा मेस्सीलाई आफ्नो सर्वोच्च व्यक्तिगत सम्मान प्रदान गरेको जनाएको छ ।

महासंघका अनुसार उत्कृष्ट खेलाडी छनोटका लागि खेलाडीको प्रदर्शन मूल्याङ्कन, गोल, असिस्ट तथा नकआउट चरणमा पारेको प्रभावलाई समेटिएको तथ्याङ्कमा आधारित विशेष ‘परफर्मेन्स इन्डेक्स’ प्रयोग गरिएको थियो ।

मेस्सीले विश्वकपमा अर्जेन्टिनाका सबै सात खेल खेलेका थिए । उनले कुल ६२६ मिनेट मैदानमा बिताउँदै आठ गोल र चार असिस्ट गरेका थिए । प्रतियोगिताभर उनको प्रत्यक्ष गोल योगदान १२ पुगेको थियो ।

आईएफएफएचएसका अनुसार मेस्सीको औसत म्याच रेटिङ ८.३३ रहेको थियो, जुन प्रतियोगिताभर सबैभन्दा उत्कृष्ट प्रदर्शनमध्ये एक हो । महासंघले समूह चरणदेखि नकआउट चरण र फाइनलसम्म निरन्तर उच्चस्तरीय प्रदर्शन गरेका कारण मेस्सी अन्य खेलाडीभन्दा अगाडि रहेको उल्लेख गरेको छ ।

विशेषगरी नकआउट चरणमा खेलाडीको प्रभावलाई बढी महत्व दिइएको आईएफएफएचएसले जनाएको छ । आईएफएफएचएसले नकआउट चरणको प्रदर्शनलाई विशेष महत्व दिने गरेको छ । महासंघका अनुसार अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउन मेस्सीको भूमिका निर्णायक रह्यो र सबै मापदण्डमा उनको समग्र प्रदर्शन सूचकाङ्क अन्य खेलाडीभन्दा उच्च देखिएको थियो ।

आईएफएफएचएसले सन् १९९१ देखि विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र अन्य विधाका प्रतिभालाई सम्मान गर्दै आएको छ ।