काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा हास्य कलाकार नारदप्रसाद खतिवडासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकलाई रिहा गराइदिने तथा विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानीसमेत झिकाइदिने आश्वासन दिएर उनीहरूले ९ लाख रुपैयाँ ठगी गरेका हुन्। पीडितबाट रकम असुलेपछि वाचा पूरा नगरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने उदयपुर कटारी नगरपालिका–८ सिरिसे घर भएका ३८ वर्षीय विक्रमबहादुर थापा, नवलपरासी ९पश्चिम० सुनौल नगरपालिका–७ तर्गौली घर भएका ५९ वर्षीय गोपालकुमार गुरुङ तथा काठमाडौं महानगरपालिका–१० बुद्धनगर बस्ने सर्लाही लालबन्दी नगरपालिका–५ घर भएका ५२ वर्षीय नारदप्रसाद खतिवडा रहेका छन्। अनुसन्धानका क्रममा उनीहरूले अध्यागमन विभागमा प्रभाव रहेको दाबी गर्दै हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने र नियन्त्रणमा रहेका राहदानीसमेत फिर्ता गराइदिने प्रलोभन देखाएर रकम लिएको खुलेको प्रहरीले जनाएको छ।
उक्त रकममध्ये ९ लाख रुपैयाँ ठगी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
प्रहरीले पक्राउ परेका तीनै जनामाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता, रकमको थप कारोबार तथा ठगीको शैलीबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया