काठमाडौं । जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाली कांग्रेसको संस्थापन इतर पक्षको कार्यक्रममा पार्टी एकताको पक्षमा सार्वजनिक प्रतिबद्धता जनाइए पनि अधिकांश नेताले साउन २९ भित्र सम्मानजनक राजनीतिक सहमति नभए ‘नयाँ कार्यदिशा’मा अघि बढ्ने स्पष्ट चेतावनी दिएका छन्।
‘संवाद, सहमति र एकता–आजको आवश्यकता’ शीर्षकमा आयोजित कार्यक्रममा बोल्ने शीर्ष नेताहरूले पार्टीभित्र देखिएको संकट समाधान गर्ने जिम्मेवारी सभापति गगन थापाको काँधमा रहेको उल्लेख गर्दै समयमै पहल नभए राजनीतिक रूपमा नयाँ निर्णय अपरिहार्य हुने बताएका हुन्। कार्यक्रममा सहभागी नेता–कार्यकर्ताले ‘नयाँ कार्यदिशा’ सम्बन्धी अभिव्यक्तिमा पटक–पटक ताली बजाएर समर्थन जनाएका थिए।
पछिल्लो समय विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वशैलीप्रति असन्तुष्टि जनाउँदै आएको शेरबहादुर देउवा र डा। शेखर कोइराला पक्ष एउटै मोर्चामा उभिएको छ। सोही समूहका नेता प्रकाशमान सिंहले साउन २९ गते राष्ट्रिय भेला आयोजना हुने घोषणा गर्दै त्यसअघि सम्मानजनक एकताको वातावरण नबने नयाँ राजनीतिक निर्णय लिइने संकेत दिएका छन्।
कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसभित्रको विवाद व्यक्तिगत स्वार्थको नभई राजनीतिक वैधता, आत्मसम्मान र संगठनात्मक मर्यादासँग जोडिएको विषय भएको बताए। उनले १४औँ महाधिवेशनबाट निर्वाचित संरचनालाई विशेष महाधिवेशनमार्फत विस्थापित गरिएको आरोप लगाउँदै अदालत र निर्वाचन आयोगले कानुनी मान्यता दिए पनि त्यसले राजनीतिक समस्या समाधान गर्न नसकेको दाबी गरे।
उनले ५४ र ४६ प्रतिशतको शक्ति गणनाभन्दा माथि उठेर दुवै पक्षलाई समेट्ने राजनीतिक निर्णय आवश्यक रहेको बताए। आफूहरू कुनै पदको बार्गेनिङमा नरहेको स्पष्ट पार्दै उनले अहिलेको संघर्षलाई आत्मसम्मानको लडाइँको रूपमा व्याख्या गरे। राष्ट्रियता अहिले गम्भीर संकटमा रहेको उल्लेख गर्दै कांग्रेसको पूर्ण एकताले मात्रै त्यसको सामना गर्न सक्ने उनको भनाइ थियो।
नेता डा। शेखर कोइरालाले कांग्रेसभित्र निर्णय प्रक्रिया संकुचित हुँदै गएको, फरक मत राख्नेहरूमाथि कारबाही बढेको तथा पार्टीभित्र स्वेच्छाचारी प्रवृत्ति हाबी भएको आरोप लगाए। उनले कांग्रेसको मूल वैचारिक आधार बीपी कोइरालाले प्रतिपादन गरेको ‘प्रजातान्त्रिक समाजवाद’ नै भएको उल्लेख गर्दै त्यसबाट विचलित हुन नहुने बताए।
सभापति गगन थापालाई प्रत्यक्ष सम्बोधन गर्दै उनले समयमै पार्टी एकताका लागि पहल गर्न आग्रह गरे। “यदि कुनै दुर्भाग्यपूर्ण अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी नेतृत्वको हुनेछ,” भन्दै उनले व्यक्तिवादी सोच त्यागेर एकताको पहल गर्न आग्रह गरे।
नेता विमलेन्द्र निधिले पनि ‘सामाजिक लोकतन्त्र’ सम्बन्धी बहसमाथि प्रश्न उठाउँदै कांग्रेसले आफ्नो मौलिक वैचारिक आधार ‘प्रजातान्त्रिक समाजवाद’ छाड्न नहुने बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक लोकतन्त्रको नीति अघि सारेपछि कांग्रेसभित्र त्यसको प्रभाव देखिएको उल्लेख गर्दै उनले वैचारिक विचलन पार्टीका लागि हितकर नहुने चेतावनी दिए।
निधिले राष्ट्रिय भेलासम्म पनि एकता नभए नयाँ कार्यदिशा तय गर्नुपर्ने अवस्था आउन सक्ने बताएपछि हलमा उपस्थित नेता–कार्यकर्ताले जोडदार ताली बजाएर समर्थन जनाएका थिए।
यस्तै, नेता कृष्णप्रसाद सिटौलाले पनि साउन अन्त्यमा हुने राष्ट्रिय भेलाले कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने स्पष्ट संकेत दिए।
बीपी कोइरालाको स्मृति दिवसको अवसरमा आयोजित यो कार्यक्रमसँगै कांग्रेसभित्र लामो समयदेखि जारी विवाद पहिलो पटक सार्वजनिक रूपमा ‘अल्टिमेटम’को चरणमा पुगेको राजनीतिक विश्लेषण गरिएको छ।

प्रतिक्रिया