पार्टी फुटे त्यसको जिम्मेवारी सभापतिले लिनुपर्छ : शेखर कोइराला

पार्टी फुटे त्यसको जिम्मेवारी सभापतिले लिनुपर्छ : शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको वर्तमान संकट समाधानका लागि सभापति गगन थापाले तत्काल पहल गर्नुपर्ने बताएका छन्। समयमै एकताका लागि पहल नभई पार्टी विभाजनको अवस्था आए त्यसको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्ने उनको भनाइ छ।

जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार संस्थापन इतर पक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले नेतृत्वले पार्टीभित्रको गतिरोध अन्त्य गर्न आवश्यक राजनीतिक पहल नगरेको आरोप लगाए।

“धेरै समय गुज्रिसकेको छ। कथमकदाचित सभापतिजीले छिट्टै पहल गर्नुभएन र दुर्भाग्यपूर्ण अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्छ,” उनले भने।

कोइरालाले सभापति थापामाथि व्यक्तिवादी शैली अपनाएको र अरूको प्रभावमा चलेको आरोप पनि लगाए। उनले बीपी कोइरालाको राजनीतिक विचार र आदर्शलाई आत्मसात् गर्न आग्रह गर्दै नेतृत्वलाई स्वेच्छाचारी प्रवृत्ति त्याग्न सुझाव दिए।

“सभापतिजी, बीपीको विचारलाई सम्झनुस्, व्यक्तिवादी चरित्र छोड्नुस्, स्वार्थीपन छोड्नुस् र कसैको इसारामा नहिँड्नुस्,” उनले भने।

पछिल्लो समय कांग्रेसभित्र विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवादका बीच संस्थापन इतर पक्षले सम्मानजनक एकताको माग गर्दै नेतृत्वमाथि दबाब बढाइरहेको छ। नेताहरूले साउन २९ भित्र राजनीतिक सहमति नभए नयाँ कार्यदिशा अपनाउने संकेतसमेत दिएका छन्।