सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए ।
प्रमुख सचेतक जिसीका अनुसार नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै ३२ असारमा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय भएको हो । बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले पनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
नेकपाका ११ जना सांसद र नेपाली कांग्रेसका पाँच जनासहित १६ जना कर्णाली प्रदेशसभा सदस्यको हस्ताक्षरसहित असार ३२ गते कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, एमालेका १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक सांसद छन् ।
आलोपालको सरकार सञ्चालनको सहमतिबाट मुख्यमन्त्री पछि हटेको भन्दै कांग्रेसले नेकपासँग सत्ता साझेदार गर्ने सहमतिका साथ प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । दुई दलबीच भएको सहमति अनुसार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा अघि सारिएको छ । प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव संसद्बाट पारित भएको खण्डमा मुख्यमन्त्री कँडेल पदमुक्त हुनेछन् ।
कर्णाली प्रदेशमा नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका यामलाल कँडेलले सत्ताको नेतृत्व गरिरहेका छन् । गत साता नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि कर्णालीमा नयाँ गठबन्धनको खेल सुरु गरिएको थियो ।
यता कांग्रेसको नेतृत्वमा रहेको वागमती सरकारबाट एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । कर्णालीमा कांग्रेसले सरकार छाडेपछि वागमतीमा एमालेले सरकार छाडेको छ ।

प्रतिक्रिया