ओली भन्छन् – लोकतन्त्र, संविधान र सुशासनका लागि सबै दलसँग सहकार्य गर्नुपर्छ

ओली भन्छन् – लोकतन्त्र, संविधान र सुशासनका लागि सबै दलसँग सहकार्य गर्नुपर्छ


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव मात्रै लोकतन्त्रको आधार नहुने बताएका छन् ।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) द्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विभिन्न देशमा चुनाव भए पनि त्यहाँ लोकतन्त्र नभएको उदाहरण रहेको उल्लेख गरे ।

उनले भने, ‘चुनावले मात्रै लोकतन्त्र हुँदैन । विभिन्न देशमा चुनाव हुने गरेका छन्, तर लोकतन्त्र छैन । चुनाव हुन्छ, लोकतन्त्र हुँदैन । हाम्रो देशमा पनि मैले बोल्नलाई जिब्रो चपाइरहनुपर्ने आवश्यकता देख्दिनँ ।’

ओलीले २०८२ साल भदौ २३ र २४ गते भएको जनधनको क्षति, आगजनी तथा हिंसात्मक घटनाप्रति टिप्पणी गर्दै नेपालको इतिहासमा त्यस्ता घटना कल्पना गर्न नसकिने बताए ।

उनले भने, ‘०८२ को भदौ २३ र २४ गते जनधनको क्षति गराउने, देशमा मार्ने–मराउने, आगजनी गराउने, यस्ता कहिल्यै नभएका घटना नेपालको इतिहासमा कल्पना गर्न सकिने थिएनन् । राणा शासनविरुद्धको संघर्षमा पनि यस्तो भएन । राणाहरूका घरमा आगो लगाइएन, दरबारहरू जलाइएनन् । त्यसपछिका संघर्षहरूमा पनि त्यस्तो गरिएन । २०६२÷६३ को आन्दोलनमा पनि त्यस्तो भएन ।’

माओवादी आन्दोलनतर्फ संकेत गर्दै उनले हिंसात्मक बाटो रोजिए पनि समाजलाई आतंकको नियन्त्रणमा राख्ने खालका गतिविधि नभएको दाबी गरे ।

उनले भने, ‘माओवादीले सत्ता कब्जा गर्नका लागि हिंसात्मक बाटो उपयुक्त छ भनेर त्यो बाटो समात्यो । तर, उपद्रो र आतंकपूर्ण क्रियाकलाप गर्‍यो । समाजलाई आतंकको भयको नियन्त्रणमा राख्ने त्यस प्रकारका क्रियाकलाप गरेनन् ।’

ओलीले वैधानिक सरकार र संवैधानिक व्यवस्थाविरुद्ध अवैध तथा आपराधिक गतिविधि भएको आरोप पनि लगाए । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी विषय उठाउँदै संविधानको व्याख्याप्रति प्रश्नसमेत गरे ।

उनले भने, ‘वैधानिक सरकारलाई, वैधानिक सत्तालाई अवैध, आतंकपूर्ण र आपराधिक क्रियाकलापबाट अपदस्त गर्ने, संविधानविपरीत मात्र होइन, संविधानको धाराले जुन कुरा हुँदैन भन्छ, त्यही काम पूर्वप्रधानन्यायाधीशको अगुवाइमा भयो । बन्देज गरेको कुरा गर्ने काम भयो । अवैध सिफारिसमा जननिर्वाचित सांसद हटाएर संसद् बन्द गर्ने काम भयो । एक तिहाइ विकल्प हुन सक्दैन । दुई तिहाइको प्रधानमन्त्रीले सरकार चलाउन असुविधा भयो, असहज भयो, सम्भव भएन, त्यसकारण विघटन गर्छु भनेर गरिपाऊँ भनी सिफारिस गर्दा असंवैधानिक हुने, अलोकतान्त्रिक हुने । अनि संविधानबाहिरबाट कुन धाराबाट प्रतिनिधिसभाको विघटन ?’

यसैगरी ओलीले देश, जनता, लोकतन्त्र, संविधान र सुशासनको पक्षमा सबै राजनीतिक दलले सहकार्य गर्नुपर्ने बताए । उनले लोकतन्त्रको रक्षा, संविधानको संरक्षण र सुशासन पुनः स्थापित गर्न सबै दलले साझा रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘देशका लागि, जनताको हितमा, लोकतन्त्र फिर्ता ल्याउन, संविधानको रक्षा गर्न र सुशासन फेरि फिर्ता ल्याउन दृढताका साथ अगाडि बढौं । एकजुट भएर अगाडि बढौं । सबै पार्टी एकै ठाउँमा मिलेर एउटै पार्टी बनाएर जाऔं भनेको होइन । पार्टी आफ्ना–आफ्नै भए पनि हुन्छ, तर काममा चाहिँ मिलौं, सहकार्य गरौं ।’

ओलीले प्रदेश सरकारको अवस्थाबारे केही अन्योल देखिएको स्वीकार गर्दै त्यसको समाधान छिट्टै गरिने बताए ।

उनले भने, ‘अहिले प्रदेश सरकारहरूमा अलिकति अन्योलजस्तो देखा परेको छ । तर त्यसको समाधान छिट्टै दिन्छौं । यो अस्पष्टतालाई हामी हटाउँछौं । स्पष्ट ढंगले प्रदेश सरकारहरू र स्थानीय सरकारहरू चल्छन् ।’