चीन भ्रमणमा राष्ट्रपति सीसँग भेट्ने प्रयासमा रवि लामिछाने

चीन भ्रमणमा राष्ट्रपति सीसँग भेट्ने प्रयासमा रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी अगस्टको अन्तिम साता चीन भ्रमणमा जाने तयारीमा छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा उनी नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ जाने कार्यक्रम छ ।

पार्टी स्रोतका अनुसार रास्वपाले भ्रमणका क्रममा लामिछाने र चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच भेट गराइदिन चिनियाँ पक्षसँग अनुरोध गरेको छ । यद्यपि हालसम्म उनको भेट चिनियाँ उपराष्ट्रपति हान झेङ, विदेशमन्त्री वाङ यी तथा सीपीसीको अन्तर्राष्ट्रिय विभागका अधिकारीहरूसँग हुने प्रारम्भिक कार्यक्रम तय भएको बताइएको छ ।

लामिछाने यसअघि जुनको पहिलो साता भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर लगायत शीर्ष नेतासँग भेट गरेका थिए ।

त्यसैको निरन्तरतामा चीनको शीर्ष नेतृत्वसँग पनि भेट गर्ने प्रयास भइरहेको पार्टी स्रोतले जनाएको छ ।

यसअघि जुलाईको तेस्रो साताका लागि तय गरिएको चीन भ्रमण सीसँगको भेट सुनिश्चित नभएको र आन्तरिक कारणले स्थगित गरिएको थियो ।