बाल संरक्षण भत्ता हिनामिना आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा

बाल संरक्षण भत्ता हिनामिना आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको तत्कालीन भरतपुर गाउँ विकास समितिको बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले शुक्रबार तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी, तत्कालीन कार्यालय सहायक उमाकान्त महतो र तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति) महोत्तरीको आन्तरिक लेखापरीक्षण शाखामा कार्यरत सहायक लेखापाल सुरुज साहविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०६८/६९ मा बाल संरक्षण भत्ताका लागि जिल्ला विकास समिति महोत्तरीबाट भरतपुर गाविसलाई ३ लाख ७ हजार २ सय रुपैयाँ निकासा भएको थियो। तर उक्त रकम वास्तविक लाभग्राही बालबालिकालाई वितरण नगरी वितरण गरेको देखिने नक्कली भरपाई तयार गरी सरकारी रकम हिनामिना गरिएको अनुसन्धानबाट खुलेको हो।

आयोगले लाभग्राहीको सहीछाप हुनुपर्ने स्थानमा प्रतिवादीहरूले आफैं र अन्य व्यक्तिबाट औँठाछाप गराई नक्कली भरपाई तयार गरेको तथा त्यसकै आधारमा पेश्की फर्छ्यौट गरी रकम अपचलन गरेको जनाएको छ। प्रयोगशाला परीक्षण प्रतिवेदनबाट समेत नक्कली सहीछाप प्रयोग गरिएको पुष्टि भएको आयोगको दाबी छ।

अनुसन्धानका क्रममा तत्कालीन कार्यालय सहायक उमाकान्त महतोले तत्कालीन सचिव महेश्वर महतो कोइरी र तत्कालीन सहायक लेखापाल सुरुज साहसँग मिलेमतो गरी सरकारी रकम हिनामिना गरेको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगले तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १७ अन्तर्गत कसुर कायम गर्दै जनही ३ लाख ७ हजार २ सय रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना, बिगो असुल तथा कानुनबमोजिम कैद सजायको मागदाबी गरेको छ।