काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सत्याग्रहमा रहेका प्रा.डा. गोविन्द केसीका मागबारे अनौपचारिक संवाद सुरु भएको बताएका छन् ।
शुक्रबार शिक्षा मन्त्रालयमा शिक्षा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले आफ्नो सचिवालयमार्फत डा. केसीको टोलीसँग छलफल भइरहेको जानकारी दिएका हुन् ।
मन्त्री पोखरेलले डा. केसीका मागप्रति आफू सकारात्मक रहेको बताउँदै उनीप्रति आफ्नो पहिलेदेखिको समर्थन रहेको उल्लेख गरे । ‘सचिवालयबाट छलफल भइरहेको छ । उहाँका मागका विषयमा मेरो ध्यानाकर्षण भएको छ । म डा. केसीको फ्यान हुँ, समर्थक हुँ,’ मन्त्री पोखरेलले भने ।
उनले डा. केसीकै लामो संघर्षका कारण नेपालको चिकित्सा शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार आएको र गरिब तथा विपन्न वर्गका विद्यार्थीले पनि चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएको बताए ।
‘डा. केसीले गर्दा नै नेपालको चिकित्सा क्षेत्रमा निकै सुधार भएको हो । उहाँले उठाउनुभएका मागबारे बुझ्न लगाएको छु,’ उनले भने, ‘मागको विस्तृत अध्ययन गरेपछि त्यसको सम्बोधनका लागि आवश्यक पहल गर्छु ।’
मन्त्री पोखरेलका अनुसार हाल डा. केसीको टोलीसँग अनौपचारिक रूपमा संवाद भइरहेको छ ।
डा. केसी बिहीबारदेखि धनगढीमा आफ्ना विभिन्न माग राख्दै २४औँ सत्याग्रह (अनसन) मा बसेका छन् ।
उनका मागहरू –
१) स्थापित नियम र मूल्य-मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस् ।
२) चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरियोस् ।
३) राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस् । साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरियोस् ।
४) सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरियोस् ।

प्रतिक्रिया