एजेन्सी । भारतमा युवाहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आह्वान गरेको विरोध प्रदर्शन देशव्यापी भएको छ । ककरोच जनता पार्टीको अगुवाइमा दिल्लीबाट सुरु भएको प्रदर्शन भारतभर फैलिएको छ ।
यसैबीच बिहारका विभिन्न क्षेत्रमा शनिबार आह्वान गरिएको ‘बिहार बन्द’ को प्रभाव देखिएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग तथा जुलाई २२ मा विद्यार्थीमाथि भएको प्रहरी लाठीचार्जको विरोधमा विद्यार्थी संगठन आईसा (AISA) ले बिहार बन्दको आह्वान गरेको हो।
बन्दका क्रममा राज्यका विभिन्न जिल्लामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। सिवान, समस्तीपुर, मधेपुरा, गोपालगञ्ज, छपरा, आरा र राजधानी पटना लगायतका स्थानबाट प्रदर्शनका दृश्य सार्वजनिक भएका छन्।
छपरामा प्रदर्शनकारी विद्यार्थीहरूले व्यापक नाराबाजी र प्रदर्शन गरेका थिए भने राजधानी पटनामा प्रदर्शन नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो।
पटनाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कार्तिकेय शर्माले सीमित बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर गरिएको बताए। उनका अनुसार केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।
यसअघि जुलाई २२ र २३ मा भएको विरोध प्रदर्शनपछि बिहारभर सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रहरीले विभिन्न क्षेत्रमा फ्ल्याग मार्च गर्नुका साथै धेरै प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।
यसैबीच, पटना प्रहरीले शनिबार प्रकाशित दैनिक पत्रिकाहरूमा प्रदर्शनकारीका तस्बिर छाप्दै विद्यार्थी र उनीहरूका अभिभावकलाई आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न आग्रह गरेको छ।
उता, भारतको लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई शिक्षा मन्त्रालयबाट हटाएर अर्को मन्त्रालयको जिम्मेवारी दिने विषयमा सरकारभित्र छलफल भइरहेको दाबी गरेका छन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमा राहुलले भने, “सरकारभित्र यसबारे छलफल भइरहेको छ। आजभोलि हामीलाई सरकारभित्रबाट पनि जानकारी आउने गर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्मा धर्मेन्द्र प्रधानलाई शिक्षा मन्त्रालयबाट हटाएर अर्को मन्त्रालयमा पठाउने विषयमा कुराकानी भइरहेको छ।”
तर उनले यस्तो कदम विद्यार्थीलाई स्वीकार्य नहुने भन्दै धर्मेन्द्र प्रधानलाई मन्त्रिपरिषद्बाटै बर्खास्त गर्नुपर्ने माग गरे।
राहुल गान्धीले “विद्यार्थी भारतको भविष्य हुन्, नरेन्द्र मोदी भारतको अतीत हुन्। अतीतले भविष्यसँग कहिल्यै लड्न सक्दैन,” भन्दै सरकारको आलोचना गरे।
यसअघि उनले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीमाथि व्यंग्य गर्दै लेखेका थिए, “मेट्रो, पसल, इन्टरनेट, सडक र खाना बन्द गरियो, तर प्रश्नपत्र चुहावट भने रोक्न सकिएन।”

प्रतिक्रिया