धनगढी । बिहीबारदेखि धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह थालेका डा.गोविन्द केसीलाई स्वास्थ्य अवस्था जटिल बनेपछि सेती अस्पतालको आईसीयूमा सारिएको छ ।
उनका स्वास्थ्य सहयोगी डा.अमृत जैसीका अनुसार केसीको सुगर लेवल घटेको छ । ‘रगतमा सुगर लेवल ४९ मा झरेको छ,’ जैसीले भने, ‘प्रेसर पनि एक सयमा झरेको छ । पोटासियम पनि कम भएको छ ।’
डा.केसीले भने सुगरको औषधि लिन नमानेको जैसीले बताए । आफू अहिले अनशनमा रहेकाले अनशनअनुसारकै औषधि प्रयोग गर्न केसीले आग्रह गरेको जैसीको भनाक्ष छ । सेती अस्पतालका डा.गजेन्द्र दुवालको टीमले केसीको स्वास्थ्य अवस्थाको निरीक्षण गरिरहेका छन् ।
शुक्रबार साँझ शिक्षा तथा खेलकुदमन्त्री अस्मित पोखरेलले डा.केसीका सहयोगी जैशीसँग छलफल गरेका थिए भने राति करिब ११ बजे डा.केसीसँग पनि टेलिफोन संवाद गरेका थिए । संवादका क्रममा मन्त्री पोखरेलले माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
त्यसक्रममा डा.केसीले आफ्नो पाँचबुँदे मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल तीन सय शय्याको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन सुरु तथा स्वार्थप्रेरित ढंगले गरिएको उपकूलपति र रजिस्ट्रारको नियुक्ति खारेज हुनुपर्ने आफ्नो मुख्य अडान रहेको बताएका थिए ।
मन्त्री पोखरेलले ती विषयमा वार्ता टोली गठन गर्ने र आवश्यक परे आफू नै धनगढी आउने प्रतिबद्धता जनाएको सहयोगी डा.जैशीले बताए ।
यता, केसी अनशनरत कैलालीको धनगढीस्थित कृष्ण मन्दिर बाहिर स्थानीयबासीले प्रदर्शन गरेका थिए । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्न नदिने षडयन्त्र भएको भन्दै स्थानीयले केसीबिरुद्ध शनिबार विहान प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया