काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामाको माग गर्दै करिब एक महिनादेखि नयाँदिल्लीको जन्तर–मन्तरमा ककरोच जनता पार्टी (सिजेपी) ले प्रदर्शन गर्दै आएको थियो ।
नीट (NEET) प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशभर धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विभिन्न प्रदर्शन भइरहेका थिए ।
प्रधानले सामाजिक सञ्जाल एक्समार्फत आफूले प्रधानमन्त्रीलाई राजीनामा पठाइसकेको जानकारी दिएका छन् । यद्यपि, उनको राजीनामा अझै स्वीकृत भएको छैन ।
एक्समा उनले लेखेका छन्, ‘जन्तर–मन्तर र देशभर उत्पन्न भएको अवस्थाको राष्ट्रविरोधी शक्तिहरूले फाइदा नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका कुनै पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नफसोस्, हाम्रा विद्यार्थीहरूले आफ्नो समय अध्ययनमा खर्च गरून् र आफ्नो करिअर निर्माणमा केन्द्रित हुन सकून् भन्ने सोचका साथ मैले सम्माननीय प्रधानमन्त्रीलाई आफ्नो राजीनामा पठाएको छु ।’
ककरोच जनता पार्टी (सिजेपी) का संस्थापक अभिजीत दीपकेले भनेका छन्, ‘हामी सफल भयौं । धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् ।’ यसअघि कांग्रेससहित विपक्षी दलहरूले पनि उनको राजीनामाको माग गर्दै आएका थिए ।
प्रधानले एक्समा सार्वजनिक गरेको पत्रमा आफू विगत चार दशकभन्दा बढी समयदेखि विद्यार्थी, शिक्षक र शिक्षा सुधारका लागि समर्पित रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘मेरो सधैंको विश्वास रहँदै आएको छ कि सशक्त, समावेशी र दूरदर्शी शिक्षा प्रणाली नै बलियो राष्ट्रको आधारशिला हो ।’
उनले थप भनेका छन्, ‘म देशका युवाको आकांक्षा, भावना र उनीहरूको न्यायोचित अपेक्षाप्रति गहिरो सम्मान व्यक्त गर्दछु । भारतका युवा पुस्ताका सपनालाई साकार पार्नु हामी सबैको राजनीतिक र सामाजिक जीवनको नैतिक संकल्प हो । सम्माननीय प्रधानमन्त्रीको दूरदर्शी नेतृत्वमा राष्ट्रसेवा गर्ने अवसर पाएकोमा म उहाँप्रति आभार व्यक्त गर्दछु ।’
नीट प्रश्नपत्र चुहावट प्रकरणबारे उनले भनेका छन्, ‘पहिलो दिनदेखि नै मैले यसको जिम्मेवारी लिएको थिएँ र यो परिस्थितिबाट कहिल्यै पन्छिएको थिइनँ । मेरो प्रतिबद्धता थियो कि परीक्षा माफियाका कारण कुनै पनि मेधावी विद्यार्थीको भविष्य बिग्रन नदिइयोस् र कुनै पनि विद्यार्थीमाथि अन्याय नहोस् ।’
उनले केही जिम्मेवार पदमा रहेका व्यक्तिहरूले विद्यार्थीलाई भ्रमित पार्ने प्रयास गरेको आरोप पनि लगाएका छन् ।
उनले भनेका छन्, ‘यस अवधिमा पनि केही जिम्मेवार पदमा रहेका व्यक्तिहरूले विद्यार्थीलाई भ्रमित पार्ने र अवरोध सिर्जना गर्ने प्रयास गरे, जसले मलाई अत्यन्त दुःखी बनायो ।’
उनले पुनः दोहोर्याउँदै भनेका छन्, ‘देशको वर्तमान अवस्थाबाट राष्ट्रविरोधी शक्तिहरूले लाभ नलिउन्, राष्ट्रिय एकता कायम रहोस्, कुनै पनि विद्यार्थीको भविष्य कानुनी झमेलामा नफसोस् र हाम्रा विद्यार्थीहरू अध्ययन तथा आफ्नो करिअर निर्माणमा केन्द्रित हुन सकून् भन्ने उद्देश्यले मैले सम्माननीय प्रधानमन्त्रीलाई आफ्नो राजीनामा पठाएको छु ।’

प्रतिक्रिया