नागढुङ्गा सुरुङमार्ग उद्घाटनको शिलालेखमा भाग्यमानी मन्त्री लम्सालको नाम

नागढुङ्गा सुरुङमार्ग उद्घाटनको शिलालेखमा भाग्यमानी मन्त्री लम्सालको नाम


काठमाडौं । थानकोट र नागढुङ्गालाई जोड्ने नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको उपस्थितिमा आयोजित कार्यक्रममा सुरुङमार्ग उद्घाटन गरिएको हो।

मन्त्री बनेको करिब चार महिनामै नेपालको पहिलो सडक सुरुङमार्ग उद्घाटन गर्ने अवसर पाएका लम्सालको नाम आयोजनास्थलमा राखिएको नयाँ शिलालेखमा अभिलेखित गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह उद्घाटन कार्यक्रममा सहभागी नभएपछि लम्सालले उद्घाटनको नेतृत्व गरेका हुन्।  सुनौलो रंगको शिलालेखमा ‘माननीय पूर्वाधार विकासमन्त्री श्री सुनिल लम्सालज्यूद्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको समुद्घाटन सम्पन्न भयो’ भन्ने व्यहोरा उल्लेख गरिएको छ। उद्घाटन कार्यक्रममा नेपालका लागि जापानी राजदूत तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षले मन्त्री लम्सालसँगै संयुक्त रूपमा रिबन काटेर सुरुङमार्ग सञ्चालनमा ल्याएका थिए।

आयोजनास्थलमा नेपाल र जापानको झण्डासहित अर्को स्मारक शिलालेख पनि राखिएको छ, जसले दुई देशबीचको विकास सहकार्यलाई स्मरण गराउँछ।

यद्यपि, सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका भए पनि आयोजनास्थलमा उनको नाम उल्लेख गरिएको शिलालेख भने अहिले देखिँदैन। ओली नेतृत्वकै सरकारले यो आयोजना अघि बढाएको र त्यसबेलाको शिलान्यास शिलालेख निर्माणस्थलबाट हटाइएको दाबी गरिएको छ। स्रोतहरूका अनुसार शिलान्यासका बेला राखिएको पुरानो शिलालेख पछि सडक विभागमा सारिएको थियो। त्यसपछि जनजी आन्दोलनका क्रममा आगजनी हुँदा उक्त शिलालेख जलेर नष्ट भएको दाबी गरिएको छ। यस विषयमा भने सम्बन्धित निकायबाट औपचारिक पुष्टि हुन बाँकी छ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग हो। यसको सञ्चालनसँगै काठमाडौं–नौबिसे सडकखण्डको जाम कम हुने, यात्रा समय छोटिने तथा यातायात थप सहज हुने अपेक्षा गरिएको छ।