काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र त्यसक्रममा प्रहरीको गोली लागेर मृत्यु भएकाको घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा कोशी प्रदेश कार्यालय, विराटनगरमार्फत घटनाको प्रारम्भिक अनुगमन भइरहेको र घटनालाई मानवअधिकारको दृष्टिकोणबाट सूक्ष्म रूपमा अनुसन्धान गर्न थालिएको उल्लेख गरेको छ ।
आयोगका अनुसार घटनाबारे प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयसँग जानकारी लिइएको छ ।
प्रारम्भिक जानकारीअनुसार पोलमा झण्डा राख्ने विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको थियो । डिजे बजाउने विषयमा विवाद चर्किएपछि दुवै पक्षबीच झडप भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको आयोगले जनाएको छ ।
घटनामा नौ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको आयोगले उल्लेख गरेको छ । घाइतेमध्ये चार जनाको न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको जानकारी आयोगले प्राप्त गरेको जनाएको छ ।
आयोगका अनुसार घटनापछि ठाउँठाउँमा टायर बालिएको, चोकहरूमा आन्दोलनकारीले लाठी र रडसहित प्रदर्शन गरेको तथा कप्तानगञ्जलगायतका क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएपछि सुरक्षा व्यवस्था सुदृढ बनाउन नेपाली सेना परिचालन गरिएको छ ।
आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
साथै आयोगले वार्ता र संवादमार्फत विवाद समाधान गरी सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी तथा सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया