सुनसरी गोलीकाण्डबारे गगन थापाले के भने ?

सुनसरी गोलीकाण्डबारे गगन थापाले के भने ?


काठमाडौं । सुनसरीकाे देवानगञ्जमा प्रहरीकाे गोली लागेर एक जनाको मृत्यु हुने गरी भएको झडपबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको धारणा आएको छ । पार्टी सभापति गगन थापाले सोमबार विज्ञप्ति जारी गर्दै गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

थापाले भनेका छन्, ‘सरकारसँग प्रश्न छ- नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपर्थ्यो । परिस्थितिलाई समयमै आंकलन गरी घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा नागरिकको ज्यानै जाने गरी गोली चल्ने अवस्था सिर्जना हुनु अत्यन्त दु:खद छ । अत: यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गरियोस्। घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन कुनै ढिलाइ नगरियोस् ।’

थापाले अवस्था थप जटिल बन्न नदिन प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिलाई अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले व्यवस्थापन गर्न माग गरेका छन् । उनले भनेका छन्, ‘यस कठिन घडीमा संयमता र सद्भाव महत्त्वपूर्ण रहन्छ । अत: कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न, परिस्थितिलाई थप प्रतिकूल हुन नदिन तथा सामाजिक सद्भाव कायम राख्नका लागि योगदान गर्न सम्पूर्ण स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज, राजनीतिक दललगायत सवैमा हार्दिक अपील गर्दछु ।’

सभापति थापाले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यस दु:खद घटनामा ज्यान गुमाउनुभएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। साथै, घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’