काठमाडौं । नेपाली कांग्रेसभित्र एकातिर पार्टी एकताको प्रयास जारी रहँदा अर्कोतिर विभाजनको सम्भावनाबारे चर्चा झन् तीव्र बनेको छ। संस्थापन इतर पक्षले साउन २९ गते राष्ट्रिय कार्यकर्ता भेला घोषणा गरेपछि सभापति गगन थापालाई सहमतिको वातावरण बनाउनदवाव बढेको छ ।
बिहीबार सभापति थापा नेता डा। शेखर कोइरालालाई भेट्न धापासीस्थित निवास पुगेका थिए। भेटमा डा शेखर कोइरालाले चार सदस्यीय कार्यदल गठनगनृ आग्रह गरेकाक थिए । सोही प्रस्तावमा चार सदस्यीय कार्यदल गठनको पहल अघि बढाएका छन्। तर इतर पक्ष भने कार्यदलभन्दा राष्ट्रिय भेलालाई प्राथमिकता दिँदै आफ्ना तयारीलाई तीव्र बनाएको छ।
सभापति थापाले पदाधिकारीहरूलाई कार्यदलमार्फत सहमति खोज्ने विषयमा सकारात्मक छलफल भएको जानकारी गराएका थिए। संस्थापन पक्षबाट उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे, सहमहामन्त्री उदयशमशेर राणा तथा राजेन्द्र केसीमध्ये दुई जनालाई कार्यदलमा पठाउने तयारी भएको बताइएको छ।
थापा निकट एक नृताका अनुसार सभापति थापा १४औँ महाधिवेशनबाट बनेको कार्यसमिति मर्जबाहेकका विषयमा सहमतिका लागि लचक देखिएका छन्। १५औँ महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, क्रियाशील सदस्यता समिति र विधान संशोधन समितिमा इतर पक्षलाई समेट्न पनि संस्थापन पक्ष सकारात्मक रहेको उनको दाबी छ।
तर संस्थापन इतर पक्षले भने कार्यदलमा सदस्य पठाउनेभन्दा राष्ट्रिय भेलाको तयारीलाई प्राथमिकता दिएको छ। सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने र भ्रातृ तथा शुभेच्छुक संस्थाहरू परिचालनका लागि संयोजक तोक्ने निर्णय गरेको छ।
संस्थापन इतर पक्षले कार्यदलबाट सहमति सम्भव नभएको दाबी गर्दै सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, नेता पूर्णबहादुर खड्का र डा। शेखर कोइरालाबीच प्रत्यक्ष संवाद भए मात्र समाधान निस्कने बताएका छन्।
यसैबीच कांग्रेसभित्र नयाँ पार्टी गठनको सम्भावनाबारे पनि चर्चा सुरु भएको छ। इतर पक्षका नेताहरूका अनुसार केही नेताहरूले १५औँ महाधिवेशन तथा आगामी स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै नयाँ राजनीतिक विकल्पबारे छलफल गरिरहेका छन्। देउवा पक्षले नयाँ पार्टी गठन भए नेतृत्वमा डा। शेखर कोइराला वा डा। शशांक कोइरालालाई अघि सार्ने रणनीति बनाएको चर्चा छ। यद्यपि डा। शेखर कोइराला पार्टी एकताको पक्षमा दृढ रहेको र विभाजनको नेतृत्व लिन इच्छुक नरहेको उनका निकटस्थहरूको भनाइ छ। डा। शशांक कोइरालाको नाम पनि सम्भावित नेतृत्वका रूपमा चर्चामा आएको भएपनि नयाँ पार्टीको नेतृत्व आफुले नलिने बताएका छन् ।

प्रतिक्रिया