भारतीय अभिनेता प्रदीप रावतको निधन

भारतीय अभिनेता प्रदीप रावतको निधन


काठमाडौं । भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित ७४ वर्षीय रावतको मंगलबार साँझ मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचारका क्रममा निधन भयो।

भारतमा रहेकी अभिनेत्री विपना थापाले यो जानकारी दिएकी छन्। रावतले तेलुगु, हिन्दी र तमिल फिल्महरूमा मुख्य रूपमा खलपात्रको भूमिका निर्वाह गर्दै आएका थिए।

बी.आर. चोपडाको महाभारत सिरियलमा अश्वत्थामाको भूमिकाबाट चर्चा कमाएका रावतले सरफरोस, लगान र गजिनीमा पनि प्रभावशाली अभिनय गरेका थिए।

नेपाली सिनेमामा पनि उनी सक्रिय थिए। चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा’ र ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका रावतले विपना थापासँग ‘आबाट आमा’ र ‘आबाट आमा–२’ मा पनि काम गरेका थिए।

उनको निधनको खबरपछि अभिनेत्री विपना थापाले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेकी छन्। भारतीय कलाकारहरूले पनि श्रद्धाञ्जली दिइरहेका छन्।

रावतको निधनले नेपाली र भारतीय चलचित्र जगतमा शोकको वातावरण सिर्जना भएको छ।