चिली फुटबल संघले दियो छुट, अब ‘भोजिन्हा’ नाममै खेल्न पाउने

चिली फुटबल संघले दियो छुट, अब ‘भोजिन्हा’ नाममै खेल्न पाउने


सान्टियागो । चिली फुटबल महासंघ (एएनएफपी) ले केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हा (Vozinha) लाई आफ्नो चर्चित उपनाम नै जर्सीमा राखेर खेल्न विशेष अनुमति दिएको छ ।

४० वर्षीय गोलरक्षकले सोमबार चिलीको शीर्ष डिभिजन क्लब कोलो–कोलोसँग ६ महिनाको सम्झौता गरेका थिए । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले विश्वव्यापी चर्चा बटुलेका थिए ।

चिली लिगको नियमअनुसार खेलाडीले जर्सीमा आफ्नो कानुनी नाम मात्र प्रयोग गर्न पाउँछन् । त्यसअनुसार उनले जोसिमार जोजे एभोरा डायस (Josimar Jose Evora Dias) नाम प्रयोग गर्नुपर्ने थियो । महासंघको नियममा “उपनाम, सम्बोधन वा अन्य नाम जर्सीमा प्रयोग गर्न पाइँदैन” भन्ने व्यवस्था छ ।

तर कोलो–कोलोले विशेष अनुमति मागेपछि महासंघले उनलाई जीवनभर प्रयोग गर्दै आएको ‘भोजिन्हा’ उपनाम नै जर्सीमा राखेर खेल्न छुट दिएको हो । पोर्चुगाली भाषामा ‘भोजिन्हा’को अर्थ ‘हजुरआमा’ हुन्छ ।

समाचार सम्मेलनमा उनले भने, “यो मैले जीवनभर प्रयोग गरेको नाम हो । केप भर्डेमा यसको ठूलो महत्व र इतिहास छ, अहिले यो विश्वभर चिनिएको छ ।”

उनले थपे, “यदि मेरी हजुरआमा आज जीवित हुनुहुन्थ्यो भने उहाँ निकै गर्व गर्नुहुन्थ्यो । उहाँप्रतिको सम्मानस्वरूप म आफ्नो खेल जीवनभर यही नाम प्रयोग गर्न चाहन्छु ।”

भोजिन्हा आइतबार सान्टियागो पुगेका थिए, जहाँ कोलो–कोलोका समर्थकहरूले उनको भव्य स्वागत गरेका थिए । त्यसको दुई दिनपछि उनले नयाँ टोलीसँग प्रशिक्षण पनि सुरु गरिसकेका छन् ।

यसपटकको विश्वकपमा केप भर्डेलाई पहिलो पटक विश्वकपमा अंक दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । समूह चरणमा स्पेनसँग बराबरी गरेपछि उनी समर्थकमाझ लोकप्रिय बनेका थिए ।

त्यसपछि उनको सामाजिक सञ्जालमा लोकप्रियता पनि ह्वात्तै बढेको छ । विश्वकपअघि इन्स्टाग्राममा करिब ५० हजार फलोअर रहेका भोजिन्हाका अहिले झन्डै ३ करोड फलोअर पुगेका छन् ।

उनले टोलीलाई नकआउट चरणसम्म पुर्‍याउन योगदान दिएका थिए । अन्तिम ३२ को खेलमा उपविजेता अर्जेन्टिनालाई अतिरिक्त समयसम्म संघर्ष गर्न बाध्य बनाएपछि उनी फिफाको टिम अफ द टुर्नामेन्ट मा पनि परेका थिए । उनको सम्मानमा हालै पत्ता लागेको समुद्री स्लग (Sea Slug) को नयाँ प्रजातिको नामसमेत ‘भोजिन्हा’ राखिएको छ ।

‘ठूलो क्लबमा खेल्ने सपना पूरा भयो’

भोजिन्हाले आफ्नो करियरमा स्लोभाकिया, अंगोला, मोल्डोभा, साइप्रस र पछिल्लो पटक पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेसबाट खेलेका छन् ।

उनले भने, “म सधैं आफूलाई ठूलो क्लबमा खेल्ने खेलाडी ठान्थें । त्यसैले कोलो–कोलोबाट प्रस्ताव आउँदा कुनै द्विविधा भएन ।”

उनका अनुसार विश्वकपपछि धेरै क्लबबाट प्रस्ताव आए पनि कोलो–कोलो नै पहिलो रोजाइ थियो ।

“विश्वकप मेरो फुटबल जीवनकै सबैभन्दा ठूलो अनुभव थियो, तर त्यो अब विगत बनिसकेको छ । अहिले कोलो–कोलो जस्तो गौरवशाली र इतिहास बोकेको क्लबको प्रतिनिधित्व गर्नु मेरो क्लब करियरकै सबैभन्दा ठूलो उपलब्धि हो,” उनले भने ।