लुटेराको आक्रमणमा परी युगान्डा फुटबल टोलीका पूर्वकप्तानको हत्या

लुटेराको आक्रमणमा परी युगान्डा फुटबल टोलीका पूर्वकप्तानको हत्या


काठमाडौं । युगान्डाका चर्चित फुटबलर तथा राष्ट्रिय टोलीका पूर्वकप्तान डेभिड ओवोरीको लुटेराको आक्रमणमा परी मृत्यु भएको छ । २७ वर्षीय ओवोरीको मृत्युले युगान्डाभर शोक छाएको छ भने बढ्दो हिंसात्मक अपराधविरुद्ध जनआक्रोश पनि चुलिएको छ ।

प्रहरीका अनुसार राजधानी कम्पालास्थित आफ्नै घर नजिक मंगलबार राति केही लुटेराहरूले उनको मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गरेका थिए । त्यसको प्रतिरोध गर्दा उनीमाथि निर्घात कुटपिट गरिएको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीहरूले ओवोरीमाथि ढुंगाले प्रहार गरेका थिए । उनीहरू सामान लुटेर घटनास्थलबाट फरार भएका थिए भने ओवोरी अचेत अवस्थामा फेला परेका थिए ।

युगान्डाको कीर्तिमानी प्रिमियर लिग क्लब स्पोर्ट्स क्लब (एससी) भिल्लाका प्रवक्ता आसन कासिङ्ग्येले ओवोरी आफ्नै घर पुग्ने क्रममा एक समूहको निशानामा परेको बताएका छन् ।

उनका अनुसार गम्भीर घाइते भएका ओवोरीलाई सुरुमा नजिकैको स्वास्थ्य केन्द्र र त्यसपछि कम्पालाको निजी अस्पतालमा लगिएको थियो । तर उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको हो ।

प्रहरी प्रवक्ता रेचेल कावालाले घटनास्थलबाट प्रमाण संकलन गरिएको र संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको जानकारी दिएकी छन् ।

ओवोरीको हत्यापछि युगान्डाको फुटबल समुदाय, समर्थक, राजनीतिज्ञ तथा सर्वसाधारणले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

एससी भिल्लाले विज्ञप्ति जारी गर्दै भनेको छ, “हामीले एउटा खेलाडी मात्र गुमाएका छैनौं, एउटा नेता, भाइ र साथी पनि गुमाएका छौं ।”

युगान्डा फुटबल महासंघ (FUFA) ले पनि ओवोरीलाई मैदानभित्र र बाहिर दुवैतर्फ प्रेरणादायी नेतृत्व गर्ने खेलाडीको रूपमा स्मरण गरेको छ ।

महासंघले जारी गरेको वक्तव्यमा भनिएको छ, “डेभिड केवल फुटबलर थिएनन्, उनी एउटा नेता र नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत थिए ।”

यस्तै, राष्ट्रिय फुटबल टोली ‘द क्रेन्स’ ले पनि ओवोरीको निधनले देशले आफ्नो आशाको एक उज्ज्वल तारा गुमाएको जनाएको छ ।

बुधबार युगान्डाको संसद्ले ओवोरीको सम्मानमा एक मिनेट मौनधारण गर्दै घटनाको शीघ्र र निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरेको छ ।

राइट ब्याक र मिडफिल्ड दुवै भूमिकामा खेल्न सक्ने ओवोरी सन् २०२३ मा स्पेनमा दुई वर्ष बिताएपछि पुनः एससी भिल्लामा फर्किएका थिए । उनी क्लबका सबैभन्दा लामो समय खेल्ने खेलाडीमध्ये एक थिए ।

उनको कप्तानीमा एससी भिल्लाले सन् २०२४ मा २० वर्षपछि पहिलो पटक युगान्डा प्रिमियर लिगको उपाधि जित्दै कीर्तिमानी १७औँ लिग उपाधि उचालेको थियो । उत्कृष्ट प्रदर्शनका कारण उनको सम्झौता सन् २०२७ को जनवरीसम्म नवीकरण गरिएको थियो ।

ओवोरीले सन् २०२१ को अफ्रिका कप अफ नेसन्स छनोट प्रतियोगितामा पनि युगान्डाको राष्ट्रिय टोलीबाट खेलेका थिए र भविष्यमा पनि टोलीका महत्वपूर्ण सदस्यका रूपमा हेरिएका थिए ।

उनको हत्यापछि सामाजिक सञ्जालमा व्यापक आक्रोश देखिएको छ । धेरै युगान्डावासीले कम्पालामा बढ्दो हिंसात्मक अपराधप्रति चिन्ता व्यक्त गर्दै अपराधीविरुद्ध कडा कारबाहीको माग गरेका छन् ।

ओवोरीको हत्या भएको केही साताअघि मात्रै युगान्डाका अर्का अन्तर्राष्ट्रिय खेलाडी, रग्बी स्टार सिड्नी गोङ्गोड्यो, पनि कम्पालामै भीडको आक्रमणमा मारिएका थिए । यी दुई घटनाले युगान्डामा खेलकुदकर्मीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।