परमाणु सम्झौताविनै इरान युद्ध अन्त्य गर्न अमेरिका तयार

परमाणु सम्झौताविनै इरान युद्ध अन्त्य गर्न अमेरिका तयार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग नयाँ परमाणु सम्झौता नगरी नै इरानसँगको युद्ध अन्त्य गर्न सकिने संकेत आफ्ना वरिष्ठ सहयोगीहरूलाई दिएको बताइएको छ । तर, हर्मुज पुनः सञ्चालन गर्न इरानले अघि सारेका नयाँ सर्तहरूले युद्धबाट बाहिरिने ट्रम्पको प्रयासलाई जटिल बनाएको द वाल स्ट्रिट जर्नल (डब्ल्यूएसजे) ले जनाएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार पछिल्ला केही सातादेखि ट्रम्पले इरानले हर्मुज पूर्ण रूपमा पुनः सञ्चालन गरे आफूले युद्धमा विजय हासिल गरेको घोषणा गर्ने तयारी गरेका थिए । इरानको परमाणु कार्यक्रमबारे व्यापक सहमति जुटाउन कठिनाइ भएपछि ट्रम्प प्रशासनको ध्यान हर्मुजमार्फत अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको आवागमन पुनः सुचारु गराउन केन्द्रित भएको थियो ।

तर, अहिले तेहरानले हर्मुज खोल्ने मूल्य बढाएको छ । इरानले अमेरिकाबाट अर्बौं डलर क्षतिपूर्ति, मध्यपूर्वबाट अमेरिकी सेना फिर्ता, अमेरिकी नौसैनिक नाकाबन्दीको अन्त्यलगायतका विभिन्न रियायतको माग अघि सारेको समाचारमा उल्लेख छ ।

इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोलगद्रले शनिबार अमेरिकाले स्थायी रूपमा युद्ध अन्त्य गर्नुपर्ने, नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, क्षेत्रबाट आफ्ना सेना फिर्ता लैजानुपर्ने, सबै प्रतिबन्ध हटाउनुपर्ने, इरानको विदेशमा रोक्का गरिएका सम्पत्ति फुकुवा गर्नुपर्ने तथा युद्ध क्षतिपूर्ति तिर्नुपर्ने सर्त पूरा भएपछि मात्र हर्मुज पुनः खोलिने बताएका थिए । इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार इरानले आफ्ना क्षेत्रीय सहयोगीविरुद्ध अमेरिकी सैन्य कारबाही र धम्कीसमेत बन्द गर्न माग गरेको छ ।

यी नयाँ मागहरूले युद्ध अन्त्यका लागि ट्रम्पसँग रहेका विकल्प सीमित बनाएको विश्लेषण गरिएको छ । ट्रम्पले एकातिर युद्ध चर्काउने चेतावनी दिँदै आएका छन् भने अर्कोतर्फ युद्ध अन्त्य गर्न चाहेको संकेत पनि दिइरहेका छन् ।

युरेसिया ग्रुपका इरान मामिला विज्ञ ग्रेगोरी ब्रुका अनुसार इरानले ट्रम्प युद्ध अन्त्य गर्न आतुर रहेको बुझेको छ, त्यसैले उसले वार्तामा कडा अडान लिएको हो ।

सेंटर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) की मध्यपूर्व कार्यक्रम निर्देशक मोना याकुबियनले पनि इरानका मागहरूले ट्रम्पका लागि राजनीतिक रूपमा स्वीकार्य समाधान निकाल्न झन् कठिन बनाएको बताएकी छन् ।

फेब्रुअरीमा युद्ध सुरु भएपछि इरानले हर्मुज बन्द गरेको थियो । विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने यस समुद्री मार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको आवागमन प्रभावित भएको थियो ।

ट्रम्पले पछिल्ला केही सातामा पटक–पटक हर्मुज खुलिसकेको दाबी गरे पनि व्यापारिक आवागमन भने पूर्ण रूपमा पुनः सञ्चालन हुन सकेको छैन ।

अमेरिकामा पेट्रोलको मूल्य अझै युद्धअघिको स्तरमा नझरेको र मध्यावधि निर्वाचन हुन तीन महिनाभन्दा कम समय बाँकी रहेकाले ट्रम्पमाथि घरेलु राजनीतिक दबाब पनि बढिरहेको छ ।

यसबीच ट्रम्पले इरानसँग नयाँ परमाणु सम्झौता अनिवार्य नरहेको संकेत दिन थालेका छन् । शुक्रबार उनले सामाजिक सञ्जालमा “डोनाल्ड ट्रम्पले इरान युद्ध जिते” भन्ने शीर्षकको समाचारसमेत साझा गरेका थिए ।

उपराष्ट्रपति जेडी भान्सले पनि वासिङ्टनले तेहरानमाथि दबाब कायम राख्ने बताए पनि इरानले अमेरिकी माग स्वीकार नगरे पनि थप वार्ता नगरी अघि बढ्न सकिने संकेत दिएका छन् ।

ह्वाइट हाउसका अनुसार अमेरिकी सेनाले इरानमा आफ्नो सैन्य उद्देश्य पूरा गरिसकेको छ । एक अधिकारीका अनुसार अहिले ट्रम्पको मुख्य ध्यान हर्मुजमार्फत ऊर्जा आपूर्ति निर्बाध बनाउनेतर्फ केन्द्रित छ । यद्यपि इरानले थप जहाजमाथि आक्रमण गरेमा सैन्य विकल्प भने खुला रहने उनले बताएका छन् ।

वार्तामा अर्को जटिल विषय इरानको विदेशमा रोक्का गरिएका सम्पत्तिको हो । इरानले अर्बौं डलर युद्ध क्षतिपूर्ति र रोक्का सम्पत्ति फुकुवा गर्न माग गरेको छ ।

ट्रम्पले अमेरिकी करदाताको पैसा इरानलाई नदिइने बताएका छन् । तर वाल स्ट्रिट जर्नलका अनुसार सम्भावित सहमतिअन्तर्गत केही इरानी सम्पत्ति निश्चित सर्तसहित फुकुवा गर्न अमेरिका तयार हुन सक्छ ।

यसैगरी, इरानलाई अन्तर्राष्ट्रिय बजारमा पुनः तेल बिक्री गर्न दिने वा नदिने विषयमा पनि मतभेद कायम छ । यसअघि युद्धविराम सम्झौताका क्रममा अमेरिकाले इरानलाई तेल बिक्रीमा केही छुट दिएको थियो । तर हर्मुज क्षेत्रमा इरानले पुनः जहाजमाथि आक्रमण गरेपछि युद्धविराम भंग भएको भन्दै ती छुटहरू रद्द गरिएको थियो ।

अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पको बुझाइमा इरानका तीन प्रमुख परमाणु केन्द्र ध्वस्त भएपछि तेहरानले आफ्नो परमाणु कार्यक्रम तत्काल पुनः सुरु गर्ने क्षमता गुमाएको छ । साथै, इरानले गोप्य रूपमा पुनः परमाणु कार्यक्रम अघि बढाउने प्रयास गरे अमेरिकी गुप्तचर निकायले त्यसको जानकारी पाउने उनको विश्वास छ ।

अधिकारीहरूका अनुसार यदि इरानको परमाणु गतिविधि नियन्त्रणमै रह्यो र हर्मुजबाट व्यापारिक आवागमन पुनः सुचारु भयो भने ट्रम्पले हाल कायम रहेको युद्धविरामलाई अनिश्चितकालसम्म लम्ब्याउन सक्ने सम्भावना छ ।

इरानले हर्मुज पूर्ण रूपमा खोलेपछि अमेरिकाले पनि इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउने अपेक्षा गरिएको छ ।