काठमाडौं । रेड पाण्डा (हाब्रे) संरक्षण, सामुदायिक सहभागिता र साहसिक पर्यटन प्रवर्धनलाई जोड दिँदै रेड पाण्डा म्याराथनको तेस्रो संस्करण आगामी भदौ २० गते सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने भएको छ ।
तल्लो सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा रहेको सल्लेरीमा आयोजना हुने यस वर्षको कार्यक्रमले खेलकुदमार्फत रेड पाण्डा संरक्षणको सन्देशलाई समुदाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको छ ।
रेड पाण्डा नेटवर्कको आयोजना, प्ले फर नेचरको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रमको उद्देश्य रेड पाण्डा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना अभिवृद्धि गर्नुका साथै तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा चिनाउनु हो ।
म्याराथन नेपालमा रेड पाण्डा पाइने तथा रेड पाण्डा नेटवर्कका सक्रिय संरक्षण कार्यक्रम सञ्चालन भएका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको कार्यक्रम हो ।
रेड पाण्डा म्याराथनको पहिलो संस्करण सन् २०२४ मा ताप्लेजुङमा र दोस्रो संस्करण सन् २०२५ मा इलाममा आयोजना भएको थियो । पहिलो दुई संस्करणमा गरी १ सय ४० धावकले सहभागिता जनाएका थिए ।
साथै, रेड पाण्डा संरक्षणका लागि ट्रेलमा ४ सय २५ घण्टा समय बिताएका गरेका थिए । नेपालका १६ भन्दा बढी जिल्लाका साथै भारत र कोरियाबाट समेत धावकहरूले सहभागिता जनाएका थिए ।
यस वर्षको म्याराथन सोलुखुम्बुको सल्लेरीमा आयोजना हुँदैछ, जहाँबाट धावकहरूले रेड पाण्डाको बासस्थानसँग जोडिएको हिमाली भू–दृश्यमा दौडिनेछन् ।
पिकेपिकसम्म ४८ किलोमिटर दौड
म्याराथन २०२६ सल्लेरीस्थित थेक्छेन पेमा छोलिङ गोन्पा (२,३६० मिटर) बाट सुरु भई पिकेपिक (४,०५४ मिटर) सम्म पुगेर पुनः सोहीतर्फ फर्किने ४८ किलोमिटर लामो आइटिआरए दर्ता भएको ट्रेलमा आयोजना हुनेछ ।
यस कोर्समा करिब २,८७२ मिटर उचाइ माथि हुने भएकाले यो अनुभवी ट्रेल धावक तथा साहसिक खेलाडीहरूका लागि अत्यन्त चुनौतीपूर्ण हुनेछ ।
यस मार्गबाट ३ आइटिआएर अंक प्राप्त गर्न सकिन्छ, जसका लागि धावकहरूले ७ घण्टा ३० मिनेटभित्र दौड पूरा गर्नुपर्नेछ ।
दौडले धावकहरूलाई तल्लो सगरमाथा क्षेत्रको हिमाली भू–दृश्य, स्थानीय समुदाय र रेड पाण्डा संरक्षणसँग जोडिएको प्राकृतिक वातावरणसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्नेछ ।
यस वर्ष पहिलो पटक सल्लेरीमा ५ किलोमिटर लामो ‘रेड पाण्डा समुदाय रन’ समेत आयोजना हुनेछ । यसको मार्ग थेकछेन पेमाछोलिङ गुम्बाबाट सुरुभई सेर्गाखोप, पोङ् डाँडा, फाप्लु र ठूलोघर हुँदै पुनः थेकछेनपेमा छोलिङ गुम्बामा पुगेर टुंगिनेछ ।
म्याराथनको तुलनामा ‘फनरन’ सहज प्रकृतिको हुनेछ र सुरुवाती धावक, सबै उमेर तथा क्षमताका सहभागीहरूका लागि खुला रहनेछ । यसमा स्थानीय सहभागितालाई विशेष रूपमा प्रोत्साहन गरिनेछ ।
४८ किलोमिटरको चुनौतीपूर्ण म्याराथनसँगै ५ किलोमिटर रन थपिनुले यस वर्षको कार्यक्रमलाई अझ समावेशी बनाउने अपेक्षा गरिएको छ । यस वर्षको कार्यक्रममा थप रोमाञ्च थप्दै, प्रख्यात अभिनेता तथा रेड पाण्डा नेटवर्कका संरक्षण एम्बासेडर दायाहाङ राई पनि सल्लेरीमा हुने यस कार्यक्रममा सहभागी हुनुहुनेछ।
प्ले फर नेचरका संरक्षण व्यवस्थापक फ्लियुर भिसर भन्छन्, ‘रेड पाण्डा म्याराथनले खेलकुदमार्फत रेड पाण्डा र यसको बासस्थान संरक्षणमा समुदायलाई जोड्छ । ५ किलोमिटर रन थपिएसँगै सबै उमेर र क्षमताका मानिसलाई संरक्षण अभियानमा सहभागी हुने अवसर बढेको छ । यसले संरक्षणको सन्देश अझ धेरै समुदायसम्म पुर्याउन मद्दत गर्छ ।’
‘रेड पाण्डा म्याराथनले स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नुका साथै सोलुखुम्बुमा रेड पाण्डा संरक्षणको महत्त्वबारे सचेतना बढाउन मद्दत गर्छ,’ रेड पाण्डा नेटवर्कका कार्यकारी निर्देशक आङफुरी शेर्पाले भने ।

प्रतिक्रिया